विजयपुर । धरान उपमहानगरपालिका वडा नं.–१९ को आयोजनामा ३ दिने अचार बनाउने तालिमको आइतबार समापन भएको छ ।
वडा नं.–१९ को आर्थिक वर्ष २०७७–७८ को महिला लक्षित कार्यक्रम अन्र्तगतको ६० हजार बजेटबाट तालिम सञ्चालन भएको थियो । तालिम पुस १७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको थियो । तालिममा वडा नं.–१९ का ४० जना महिलाहरुको सहभागीता रहेको थियो ।
तालिममा ४ प्रकारका अचारहरु बनाउन सिकाइएको सहजकर्ता प्रमिला राईले वताइन् । उनले मिक्स अचार, राँगाको मासुको अचार, अकवरेको अचार संरक्षण, कागतीको अचार संरक्षण गर्न र खाद्य प्रविधि सम्बन्धि पनि तालिम दिइएको बताइन् । ३ दिनसम्म सञ्चालन भएको तालिमको प्रमुख प्रशिक्षक खाद्य अनुसन्धान अधिकृत काशिनाथ घिमिरे रहेका थिए । २ दिनसम्म तालिममा सहजिकरण गर्ने सहजकर्ता प्रमिला राईले सहभागीहरुलाई सिप मात्र नभई कसरी व्यवसायिक बन्ने भन्ने बारेमा पनि जानकारी दिएको वताइन् । उनले उद्योग सञ्चालन गर्ने कानुनी प्रक्रियाको विषयमा पनि जानकारी दिएको वताइन् ।
वडा नं.–१९ की वडा सदस्य तथा तालिम संयोजक जायत्रा लिम्बूको अध्यक्षतामा भएको तालिमको समापन कार्यक्रमका प्रमुख अतिथि वडा नं.–१९ का अध्यक्ष पुर्णबहादुर लिम्बू रहेका थिए । तालिमबाट सिकेको सिपबाट उद्यमतिर लाग्नुपर्ने वताउँदै अध्यक्ष लिम्बुले अप्ठ्यारो परेको ठाउँमा वडा कार्यालयले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । वडा सदस्य राजकुमार लिम्बूले सिप सिकेर आत्मनिर्भर बन्नका लागि तालिमको आयोजना गरेको वताए । कार्यक्रमकी अतिथि चौकीबारी महिला समुहकी अध्यक्ष झुमादेवी गुरुङले वडाले पहिलेपनि तालिममा धेरै लगानी गरेको तर परिणाम नदेखिएको वताउँदै तालिममा सहभागीहरुलाई सिपको सदुपयोग गर्न आग्रह गरिन् ।