विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को तेस्रो साधरण सभा तथा नयाँ नेतृत्व चयनको लागि सोमबार निर्वाचन हुदैँछ । झापाको विर्तामोडस्थित होटल सिद्धार्थ ग्राण्ड सिटीमा हुने साधरण सभा सकिएपछि निर्वाचन हुने भएको हो ।
यस अघि ११ पुसमा निर्वाचन हुने मिति तोकिएको थियो । साधारण सभा रोक्न माग गर्दै गर्ग प्रिन्टर्सको तर्फबाट दायर भएको रिटको सुनुवाई गर्दै उच्च अदालत विराटनगरले पुस १० गते निषेधाज्ञायुक्त परमादेश जारी गरेको थियो ।
१४ पुसमा उच्च अदालत विराटनगरले अन्तरीम आदेश खारेज गरेपछि सोमबार निर्वाचन हुन लागेको हो । विर्तामोड उद्योग वाणिज्य संघको अतिथ्यमा उक्त साधरणसभा हुन लागेको बताइएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को नयाँ नेतृत्वको लागि दुइ वटा समूह चुनावी मैदानमा उत्रिएका छन् । निर्वाचनमा विराटनगरका उद्योगी तथा उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे र भद्रपुरका व्यापारी तथा झापा उद्योग वाणिज्य महासंघको अध्यक्ष टीका ढकालको समूह चुनावी प्रतिस्पर्धामा छन् ।
घिमिरको समूहबाट उपाध्यक्षमा नविन रिजाललले उम्मेदावरी दिने भएका छन् । रिजाल मोरङ व्यापार संघका उपाध्यक्ष हुन् । सोही समूहबाट कोषाध्यक्षमा भिम पौडेल र डिक बहादुर कार्कीको नाम चर्चा रहेको छ । दुई जना मध्ये एक जनाले घिमिरेको समूहबाट उम्मेदवारी दिने बुझिएको छ ।
ढकालको समूहबाट उपाध्यक्षमा झापाका कुमारमणि पोखरेल रहेका छन् । पोखरेल कनकाइ उद्योग वाणिज्य संघको पूर्वअध्यक्ष तथा उद्योग वाणिज्य महासंघ प्रदेशको कार्यसमिति सदस्य पनि हुन् । यस्तै सोही समूहबाट रमेश राठी कोषाध्यक्षमा उम्मेदवारी दिने भएका छन् । उनी बर्तमान कोषाध्यक्ष हुन् ।
साधरण सभा सकिएपछि १ बजेदेखि निर्वाचनको लागि मतदान हुने निर्वाचन कार्यालयले जनाएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ मा २ सय २९ सदस्यहरु छन् । जसमा एशोसिएट सदस्य १८०, वस्तुगत सदस्य १३ र १४ जिल्लाका जिल्ला नगर उद्योग वाणिज्य संघका ३६ गरेर जम्मा २२९ सदस्यसँग मताधिकार रहेको छ ।
निर्वाचनबाट एक जना अध्यक्ष, दुई जना उपाध्यक्षहरु (जि.न. उपाध्यक्ष र एशोसिएट उपाध्यक्ष), एक जना कोषाध्यक्ष, जिल्ला नगरका तर्फबाट ५ जना सदस्य, वस्तुगतबाट दुई जना सदस्य र एशोसिएटबाट दुई जना सदस्य गरी १३ जना निर्वाचित हुने विधानको व्यवस्था छ ।