धरान/ करोडौं रुपैयाँको कारोबार गरेबापत राजश्वसम्बन्धी कागजपत्र देखाउन नसकेपछि सुनसरीको इटहरीस्थित राजश्व अनुसन्धान कार्यालयले धरान–१२ महेन्द्रपथका हार्डवेयर व्यवसायी बाबुछोरालाई नियन्त्रणमा लिएर काठमाडौं पठाएको छ । उनीहरूका पसल र गोदाम सिल गरिएको छ । 

राजश्व कार्यालयबाट आएको नौजनाको टोलीले छापामार्दा राम निवास भवनभित्रको ग्लोबल इम्पेक्सका सञ्चालक किसन अग्रवाल र एसएन इन्टरनेशनल प्रालिका सञ्चालक अग्रिम खेतान अग्रवालले कागजपत्र देखाउन नसकेकाले कर छली गरेको आरोपमा नियन्त्रणमा लिएको हो ।

नक्कली बिल बिजक बनाएर कारोबार गरेकाले उनीहरूलाई कारबाहीका लागि राजश्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको बताइएको छ । किसन अग्रवाल बाबु हुन् भने अग्रिम छोरा हुन् । राजश्व अनुसन्धान कार्यालयका प्रमुख दीपक खड्काले भने, ‘हामीलाई काठमाडौंस्थित हरिहर भवनमा रहेको राजश्व अनुसन्धान विभागबाटै अग्रवाल बाबुछोराले राजश्व छली गरेको जानकारी प्राप्त भएकाले नियन्त्रणमा लिएर उतै पठाएका हौं ।’

खड्काका अनुसार अग्रवाल बाबुछोराको कम्पनी ग्लोबल इम्पेक्स र एसएन इन्टनेसनलले खरिद बिक्री गर्दा राजश्व छली गरेको सूचना पाएपछि छापा मारेको र आवश्यक कागजपत्र माग्दा नदिएपछि करिब ७ घण्टा लगाएर खोजी गर्दा पनि नपाएकाले पसल र गोदाम सिल गरिएको हो । उनले कारोबारको कागजपत्र नै फेला नपरेकाले के कति सामग्रीको कति राजश्व छली भएको हो भन्न अहिल्यै नसकिएको पनि खड्काले बताए ।

दुवै पसलको नाममा बाबुछोराले कारोबार गर्दा हुनुपर्ने आवश्यक कागजात, बिल बिजक केही पनि फेला नपरेकोले सिल गरेर थप अनुसन्धान र कारबाहीका लागि काठमाडौं पठाइएको र बाँकी कारबाही हरिहर भवनबाट हुने खड्काले बताए ।

रामनिवासका अग्रवाल बाबुछोरालाई राजश्व अनुसन्धान विभागले नियन्त्रणमा लिएर पसल र गोदाम सिल गरेको बारे सुनसरी उद्योग वाणिज्य सङ्घका सल्लाहकार कृष्ण अग्रवालले राजश्वसम्बन्धी प्रमाण (कागजपत्र) जुटाउने र दुरुस्त राख्ने दायित्व करदाताको भएको बताए ।

उनले भने, ‘अचेल त प्रायः कारोबार अनलाइन सिस्टममा हुने गरेको छ । अनलाइन सिस्टम भएपछि सबै कुरा डिजिटलाइज हुन्छ । कागज पत्र हराएमा अनलाइनमा नै देखिन सक्छ । ती कागजपत्रहरू करदाता र राजश्व विभाग, आन्तरिक राजश्व कार्यालयका आधिकारिक पदाधिकारीले हेर्न वा देख्न सक्छन् । कारोबार गरेपछि कागजपत्रै नभेटिनुको अर्थ अर्कै लाग्न सक्छ ।’

अग्रवाल बाबु छोराको दुई कम्पनीले नेपाल खानेपानी संस्थान धरान शाखा अन्तर्गत खानेपानी पाइप र मिटर बिक्री वितरणमा एकाधिकार जमाएको थियो । संस्थानकै कर्मचारीसँगको मिलोमतोमा धरानका उपभोक्तामध्ये करिब २० हजार जनाको निजी धारा जडान गर्दा चाहिने पानीको मिटर र पाइप बिक्री वितरणमा राम निवासमा मात्र पाइने गरेको थियो । यसैगरी विद्युत् प्राधिकरणका केही उपकरण सामग्री पनि राम निवासमै मात्र पाइने गरी मिलोमतो गरिएको एक व्यवसायी बताउँछन् ।