विराटनगर । मल्टिनेशनल कम्पनी आरती स्ट्रिप्सबाट निष्कासन गरिएका मजदुरहरुलाई पुनःबहालीको गर्न माग गर्दै झण्डै दुई सय कर्मचारी आन्दोलनमा उत्रिएका छन् । 

पुस १० गते कम्पनीले १ सय ८४ जना मजदूरलाई विना कारण निष्काशन गरेपछि उनीहरू आन्दोलित भएका हुन् । 

करिब २ सयको संख्यामा रहेका श्रमिकहरूले शनिबार मोरङको बुढीगंगा गाउँपालिका २ मा रहेको आरती स्ट्रिप्सको मुल गेटमा धर्ना दिएर दिनभरी प्रदर्शन गरेका छन् । उनीहरू ‘मजदुर मार्न पाइदैन, बिना कारण निष्काशन गरेको श्रमिकलाई पुनबहाली गर, श्रम ऐनको पालना गर ।’ लगायतका नारा लगाउँदै दिनभरी प्रर्दशन गरेका थिए ।

कर्मचारीहरु आन्दोलित हुँदा पनि कुनै सुनवाई नगरेको नेपाल कारखाना श्रमिक संघको आरती स्ट्रिप्स अध्यक्ष सुरेशकुमार साहले बताए । उनले भने, ‘बिना कारण निष्काशन गरेको कर्मचारीलाई पुनःबहाली नगरेसम्म हाम्रो आन्दोलन जारी रहनेछ ।’

यसअघि उनीहरूले पुनर्वहालीको माग गर्दै विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयमा पनि उजुरी दिएका थिए । तर, श्रम कार्यालयले दिएको निर्देशन पनि आरती स्ट्रिप्सले उल्लंघन गरेको छ । यहाँ कार्यरत श्रमिकलाई उद्योगले श्रम ऐनले तोके अनुसारको ज्याला पनि नदिने गरेको उनीहरूको गुनासो छ । 

निर्देशन उल्लंघन गरेको भन्दै श्रम कार्यालय विराटनगरले आरती स्ट्रिप्सका नेपाल भरिका सबै बैंक खाता रोक्का गर्न नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयलाई पत्राचार गरेको छ । 

गत पुस १० गते समयमा काम गर्न कारखानाको गेटमा पुगेका मजदूरहरुलाई उद्योग प्रशासनले बिना कारण प्रवेश निषेध गरेपछि मजदूरहरु आन्दोलित छन् । त्यसको लगत्तै थप मजदूरलाई गेटबाटै फर्कादिएपछि मजदूरहरुले श्रम कार्यालयमा उजुरी दर्ता गराएका थिए । आरतीले मजदूरलाई काम गर्न रोक लगाएपछि मजदूरले पुनर्वहालीको माग गर्दै उजुरी गरेका थिए ।

वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद संजेलले आरती स्ट्रिप्सलाई पत्र लेख्दै पुस १४ गते मंगलवार बेलुका ४ बजे भित्रमा निकालिएका सम्पूर्ण मजदूरलाई पुनर्वहाली गरि पुस १५ गते भित्रमा श्रम कार्यालयलाई लिखित जानकारी दिन आदेश दिएका थिए । तर उक्त आदेशलाई उद्योग प्रशासनले वेवास्ता गर्दै उल्टै श्रमको आदेश विपरित श्रम अदालत जाने धम्कीपूर्ण पत्र श्रमलाई पठाएको थियो ।