धरान । धरान उपमहानगरपालिका वार्ड नं.१२ महेन्द्रपथ स्थित राम निवास भवनमा सञ्चालित ग्लोबल इम्पेक्सका सञ्चालक किसन अग्रवाल र एसएन इन्टरनेशनल प्रालिका सञ्चालक अग्रीम खेतान अग्रवाल पक्राउ परेका छन् । उनीहरु बाबु–छोरा हुन् ।

राजश्व छली गरेर कारोबार गरेको आशंकामा विहिबार राम निवासमा छापा मारेको इटहरीस्थित राजश्व अनुसन्धान कार्यालयले बाबु–छोराका दुइ हार्डवेयर पसल र गोदाम सिल गरेर उनीहरुलाई पक्राउ गरी काठमाडौं पठाएको छ । राजश्व अनुसन्धान कार्यालयका प्रमुख दिपक खड्काका अनुसार अग्रवाल बाबुछोरालाई शुक्रबार नै राजश्व अनुसन्धान विभागको मुख्य कार्यालय हरिहर भवन काठमाण्डौ पठाइसकिएको छ । विभागबाटै अग्रवाल बाबुछोराको कम्पनी ग्लोवल इम्पेक्स र एसएन इन्टनेश्नलले खरिद विक्रि गर्दा राजश्व छली गरेको सूचना आएकाले छापा मारिएको कार्यालयले जनाएको छ ।

करोडौंको कारोवार गर्ने अग्रवाल बाबुछोराले आफ्ना पसल र गोदाममा राखेका सामान खरिद विक्रिको कागजपत्र दुरुस्त नराखेको र कारोवारको कागजपत्र नै फेला नपरेकाले केकति सामग्रीको कति राजश्व छली भएको हो भन्न अहिले नै नखुलेको प्रमुख खड्काले बताए । खड्का नेतृत्वको राजश्व अनुसन्धान विभागको नौ सदस्यीय टोलीले विहिबार विहान ११ बजेदेखि सांझ ५ बजेसम्म दुवै हार्डवेयर पसल र गोदाममा कागजपत्रको खोजी गरेका थिए । 

आवश्यक कागजपत्र नै नपाएपछि गोदाम र पसल शिल गरेको प्रमुख खड्काले बताए । उनले भने, ‘दुवै पसलको नाममा बाबुछोराले कारोबार गर्दा हुनुपर्ने आवश्यक कागजात, बिल विजक केही पनि फेला नपरेकोले सिल गरेर थप अनुसन्धान र कारवाहीकालागि काठमाण्डौ पठाइएको छ । बांकी कारवाही हरिहर भवनबाट हुन्छ ।’

अग्रवाल बाबु छोराले धरानमा करोडौं रुपैयाको कारोवार गर्ने र खानेपानी संस्थान धरान शाखा अन्तर्गत खानेपानीको उपभोक्ता मध्ये करिव २० हजार जनाको निजि धारा जडान गर्दा चाहिने पानीको मिटर र पाइप विक्रि वितरणमा एकाधिकार पाएको थियो ।