भण्टाबारी/ रासायनिक मलको अभाव भइरहेको बेला सहकारी संस्थाहरूको मनोमानी बढ्दै गएको पाइएको छ । गहुँको बिउ र मल नपाएको किसानले गुनासो गरिरहेका बेला सहकारीको मनोमानी बढेको पाइएको हो । रासायनिक मल र बिउ सहकारी संस्थाहरूमार्फत् बिक्रीवितरण हुने भएकोले उनीहरूको मनोमानी बढेको किसानहरूले गुनासो गरेका छन् ।

मल र बिउ बिक्रीवितरणमा शेयर सदस्यलाई सहकारी संस्थाले प्राथमिकता दिई वास्तविक किसानलाई नदिने गरेको कोशी गाउँपालिका–१ लौकहीका किसान सुदर्शन साहले आरोप लगाए । कतिपय सहकारी संस्थाहरूले सदस्यहरूलाई दिने बहानामा एकै व्यक्तिलाई धेरै बोरा मल दिएको र आफूहरू लिन जाँदा रित्तो हात फर्कनु परेको उनको आरोप छ । साल्ट ट्रेडिङ कर्पोरेशनमार्फत् बिक्रीवितरण गर्न जिम्मा पाएका सहकारी संस्थाहरूले वास्तविक किसानलाई मल दिन आनाकानी गर्दै आएको अर्का किसान लक्ष्मी यादवले बताए ।

कोशी गाउँपालिका–१ लौकहीस्थित कमला माई सहकारी संस्थालगायतले मूल्यभन्दा बढी पैसा लिएर सप्तरीतर्फ मल पठाउने गरेको त्यहाँका किसानहरूले आरोप लगाएका छन् । बजारमा मल अभावका कारण किसान भौंतारिइरहेको अवस्थामा स्थानीय किसानको नाममा ल्याउने मल बढी पैसा लिई सप्तरीतर्फ लौकहीका सहकारी संस्थाहरूले पठाउने गरेको स्थानीयको दाबी छ । आफ्नै वडामा आएको मल पाइएला भन्ने आशामा बसेका किसानहरू लिन जाँदा सहकारी सञ्चालकहरूले ‘मल छैन’ भनेर फर्काउने गरेको किसान यादवले गुनासो गरे ।

मल नपाएर निराश भएका यादवले भने, ‘खेती लगाउने समय हुँदासमेत मल नपाएपछि हामी किसानहरू निराश भएका छौं । धान काटेदेखि गहुँ लगाउने समयसम्म सहकारीमा मल खोज्दा नभएको जवाफ पाउने गरेका छौं ।’ मल र बिउ नपाउँदा भारतीय बजारबाट तस्करी गरी ल्याइएको मल र बिउ किसानले छर्न बाध्य रहेका छन् ।

सहकारीको मनोमानी रोक्न सक्रियता
विगत लामो समयदेखि किसानहरूले मल नपाएको गुनासो गरेपछि कोशी गाउँपालिकाले यसबारे सक्रियता देखाएको छ । किसानको नाममा आएको रासायनिक मल स्थानीय किसानलाई नै उपलब्ध गराउन कोशी गाउँपालिकाले सक्रियता देखाएको हो ।

स्थानीय किसानको नाममा कमला माईलगायत लौकहीका सहकारी संस्थाले ल्याएर सप्तरीका किसानलाई महँगो मूल्यमा बेच्ने गरेको किसानबाट गुनासो आएपछि त्यसलाई रोक्नका लागि अभिलेख राख्न थालिएको कोशी गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीले बताए । उनले भने, ‘किसानको नाममा आउने रासायनिक मल उनीहरूले नै पाउने हिसाबले अभिलेख राख्न थालिएको छ ।’ कोशी गाउँपालिका क्षेत्रका किसानको नाममा आउने मल अन्तै बेच्नबाट रोक्न अभिलेख राख्न सुरुवात गरिएको अध्यक्ष अन्सारीले बताए ।

यसअघि लौकहीका सहकारी संस्थाले स्थानीय किसानलाई मल नदिई सप्तरीतर्फ बेच्न गाडीमा लैजाँदै गरेको गुनासो किसानहरूले गरेपछि सीमा प्रहरी चौकी भण्टाबारीबाट खटिएको प्रहरी टोलीले मल बरामद गरेको थियो । यता कमला माई सहकारी संस्था लौकहीका सञ्चालक अर्जुन साहले आफूहरूले स्थानीय किसानलाई नै रासायनिक मल बेच्ने गरेको दाबी गरे ।

डिएपी २४ सय र युरिया ९ सय ५० रुपैयाँका दरले कोशी गाउँपालिका वडानम्बर १ र २ का किसानलाई बेच्ने गरेको उनको भनाइ छ । उनले भने, ‘रिसइबी साध्न कोही व्यक्तिले सहकारी संस्थाबारे गलत प्रचार गरेको मात्र हो । तस्करी गरी ल्याउनेहरूले भारतीय मल सप्तरीतर्फ लाने गरेका छन् ।’