भद्रपुर । चोरीको सिटी तयारी चिया खरिद गर्ने एक पसलमा प्रहरीले छापा मारेको छ ।
वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका–४ फुटानीचोकस्थित भीमसेन राजवंशीको किराना पसलमा छापा मारेर अन्दाजी २० लाख बढीको तयारी सिटी चिया बरामद गरेको प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीले ३० केजी तौल भएको २३३ बोरा तयारी चिया र १६९ वटा खाली बोरा बरामद गरेको हो । ६ हजार ९९० केजी चियाको बजार मूल्य २० लाख ९७ हजारको रहेको प्रहरीले अनुमान गरेको जिल्लाका डिएसपी राकेश थापाले जनाए ।
चिया चोर्ने र खरिद गर्ने ट्याक्टर चालक भद्रपुर नगरपालिका ४ का २८ वर्षीय सानु राजवंशी, सोही ठाउँका ट्याक्टर चालक २७ वर्षीय ललित राजवंशी र पसल सञ्चालक ४१ वर्षीय भीमसेन राजवंशीलाई नियन्त्रणमा लिएको उनले जनाए ।
भद्रपुर–७ स्थित पराजुली टी स्टेट उद्योगका सञ्चालक आदित्य पराजुलीका अनुसार मेचीनगर नगरपालिका–२ स्थित नेपा टी इण्ड्रष्टिजमा उत्पादित तयारी चिया प्याकिङ गरी त्यहाँबाट पराजुली टी स्टेटसम्म चलाउने गरेको बताए । दुवै उद्योग आफ्नै भएकोले त्यहाँबाट ल्याउने क्रममा चालकले बाटोमै चियाका बोरा चोरी गरेर बिक्री गरेको थाहा पाएपछि प्रहरीलाई खबर गरेको उनको भनाइ छ । ट्याक्टरमा लोड गरेर ल्याएको चियाको गन्ती नहुने भएकोले त्यसैको फाइदा उठाउँदै चालकले चिया चोरी गर्दै आइरहेको उनको दाबी छ ।
चिया चोरी भएको विषयमा स्थानीयले जानकारी गराएपछि मात्र आफूले थाहा भएको उनले जनाए । उद्योगको चिया कहिले देखि चोरी हुँदै आइरहेको थियो त्यसको भने यकिन जानकारी नभएको उनी बताउँछन् । प्रहरीसहितको टोली लिएर पसलमा छापा मार्दा ठुलो परिमाणको चिया बरामद भएको उनको भनाइ छ ।
प्रहरीले नियन्त्रणमा लिएका तीन जनालाई छाडिदिएको छ । उद्योगीले जाहेरी नदिएपछि छाडिएको वडा प्रहरी कार्यालय भद्रपुरका इन्सपेक्टर डम्बर पुरीले जानकारी दिए । उद्योगी र उनीहरू एक आपसमै मिलेर गएको उनको भनाई छ ।