धरान । फुटबलका महान् खेलाडी पेलेको कीर्तिमानलाई बार्सिलोनाका अर्जेन्टिनी स्ट्राकर लियोनल मेसीले भङ्ग गरेका छन् ।

एउटै क्लबबाट सर्वाधिक गोल गर्नेमा पेलेको नाम यसअघि थियो । तर, आज राति सम्पन्न खेलमा मेस्सीले एक गोल गरेका थिए । एकै क्लबबाट मेसीले ६४४ गोल पूरा गरेका छन् । पेलेले ६४३ गोल गरेका छन् । उनले ब्राजिलियन क्लब सान्तोषका लागि सन् १९५६ देखि १९७४ सम्मको सिजनमा ६४३ गोल पूरा गरेका थिए ।

मेसीले स्पेनिस ला लिगा अन्तर्गत आज रातिको खेलमा रियल भालाडिलिडलाई ३–० गोलले पराजित गर्ने क्रममा ६५ औं मिनेटमा गोल गर्दै पेलेको कीर्तिमान भङ्ग गरेका हुन् । त्यसो त मेसी एउटै क्लबमा हालसम्म अनुबन्ध छन् । मेसीले सन् २००५ मा बार्सिलोनाका लागि पहिलो गोल गरेका थिए । ३३ वर्षीय मेसीले हालसम्म १० पटक ला लिगा, चार पटक च्याम्पियन्स लिगको उपाधि दिलाइसकेका छन् ।

ला लिगामा बार्सिलोना २४ अङ्कका साथ पाँचौ स्थानमा उक्लिएको छ । ला लिगामा रिलय मड्रिड प्रथम स्थानमा छ ।