झापा । झापा बिर्तामोड–४ को कर्णाली बचत तथा ऋण सहकारी संस्थाले ५ करोड ३८ लाख ६१ हजार ६ सय १० रुपैयाँ नाफा गर्न सफल भएको जनाएको छ ।

संस्थाले शुक्रबार बिर्तामोडमा २० औं वार्षिक साधारणसभाको प्रतिवेदन सार्वजनिक कार्यक्रममा आर्थिक बर्ष २०७६/७७ मा उक्त नाफा गरेको जनाएको हो ।

संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठसहितको टोलीले आर्थिक बर्ष २०७६/७७ मा गरेको प्रगति प्रतिदेन सार्वजनिक गरेका थिए ।
संस्थामा शेयर सदस्य ३३ हजार ९ सय ५९ जना रहेका छन् भने कर्मचारी एकसय ७४ जना रहेका अध्यक्ष श्रेष्ठद्धारा बितरित प्रतिवेदनमा उल्लेख छ ।

संस्थाको चुक्ता शेयरपुँजी २८ करोड ३ लाख ५१ हजार ५ सय रुपैयाँ रहेको छ ।

संस्थाले लकडाउनका समयमा स्थानीय सरकारको साझेदारी कार्यक्रम अन्र्तगत झापाका १५ वटै स्थानीयतहलाई ८ लाख रुपैयाँ प्रदान गरेको, पिसिआर परिक्षण उपकरण खरिदका लागि एकला ११ हजार रुपैयाँ दिएको जनाइएको छ ।

लकडाउन अवधिमै ऋणि सदस्यहरुलाई ब्याज छुट, लकडाउनका समयमा निम्न आय भएका तथा मजदुरी गर्ने सदस्यलाई जिविकोपार्जन तथा व्यवसाय पुर्नस्थापित गर्न ५ हजार ३ महिनाका लागि विना ब्याज र १० हजारसम्म १० प्रतिशत व्याजमा कर्जा सापटि दिएको प्रतिवेदनमा छ ।

सदस्य उपचार कोषमा आवद्ध विरामी सदस्यलाई उपचार खर्च, कर्जा संरक्षण कोषमा आवद्ध भई मृत्यु भएका सदस्यका नामको कर्जा मिनाह, जीवन तथा आवास कोषमा आवद्ध सदस्य र उनीहरुका परिवारका सदस्यको मृत्युमा काजक्रिया खर्च वितरणलगायत कार्यक्रम गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

सहकारी एकिकरण नीति अनुसार संस्थाले ३ बटा सहकारी संस्थाहरुसँग एकिकरण गर्दै एकिकरण नीतिलाई निरन्तरता दिइने प्रतिवेदनमा छ । कार्यक्रमको सञ्चालन संस्थाका ऋण विभाग प्रमुख मनहरि निरौलाले गरेका थिए ।

कोरोना महामारीका कारण सरकारले तोकेका स्वास्थ्यका मापदण्ड पूरा गर्दै शनिवार बिर्तामोडमा साधारणसभा सम्पन्न गरिने जनाइएको छ ।