विराटनगर/ विराटनगर–१४ का मनिष यादव सिलिण्डरबाट ग्यास चोरी गरी कम तौल भएको ग्यास बिक्री गरेको आरोपमा मङ्गलबार पक्राउ परेका छन् । यादवले सञ्चालन गरेको फोटोकपी तथा ग्यास पसलबाट उनलाई कम तौलको ग्यास बिक्री गरेको आधारमा पक्राउ गर्यो ।
कात्तिक २० गते पनि विराटनगर–२ तीनपैनीमा उपभोक्ता रतनकुमार बर्मा ठगिए । अटोमा सिलिण्डर डुलाउनेसँग खरिद गरेको कोशी ग्यासको सिलप्याक सिलिण्डरमा ३ केजी ३ सय ग्राम कम तौल फेला परेको थियो । प्रतिनिधिमूलक यस्ता घटना कोशी ग्यासको हकमा बढी लागू भएको छ ।
ग्यास उद्योगले नाम मात्रको प्लाष्टिकले र्यापिङ गरी सिलप्याक कमजोर बनाउँदा चोरी गर्नेलाई सजिलो हुने र उपभोक्ताहरू ठगीमा पर्ने क्रम बढेको हो । कोशी ग्यासको सिलिण्डरको सिलप्याक कमजोर हुँदा चोरी भई उपभोक्ता ठगीमा पर्ने गरेको गत २५ कात्तिकमा मोरङको बूढीगङ्गा गाउँपालिका–४ निमुवास्थित कोशी ग्यासको उद्योगमा गरेको अनुगमनको क्रममा पुष्टि भएपछि १५ दिनभित्रमा सुधार गर्न उद्योगलाई निर्देशन दिएको थियो ।
कोशी ग्यासको सिलिण्डरको सिलप्याक गरिएको र्यापिङ हटाएर मजबुत खालको र्यापिङ गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले निर्देशन दिएको १५ दिनको समय गत मङ्सिर ११ गते सकिएको छ । वाणिज्य कार्यालयले सुधार गर्न निर्देशन दिएको म्याद सकिएको २० दिन कटिसक्दा पनि उद्योगले सुधार गरेको छैन । अहिले बजारमा चोरी गर्नेलाई सजिलो हुने गरेको विगतको जस्तै प्लाष्टिकले र्यापिङ गरेको सिलप्याक सिलिण्डर कोशी ग्यास उद्योगले पठाउने गरेको पाइएको छ ।
कोशी ग्यास खरिद गर्दा उपभोक्ता ठगीमा परेको गुनासो आएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका निमित्त कार्यालय प्रमुख सन्तोष पोखरेलसहितका अनुगमन टोली उक्त उद्योगमा पुगेको थियो । अनुगमनको क्रममा कोशी ग्यासको सिलिण्डरमा गरिएको ¥यापिङ कमजोर भएकोले उपभोक्ताहरू ठगीमा परेको तथ्य फेला परेको थियो । ‘कोशी ग्यासको सिलिण्डरको सिलप्याक गरिएको र्यापिङ कमजोर भेटिएपछि १५ दिनभित्र सुधार गर्न निर्देशन दिएको हो’ वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका निमित्त कार्यालय प्रमुख पोखरेलले भने, ‘केही दिनअगाडि फोनमार्फत् जानकारी लिँदा छठपछि सुधार गर्ने भन्नुभएको थियो । अहिलेसम्म सुधार भएको छैन भने उद्योगसँग पुनः जानकारी लिनेछु । त्यसपछि थप कानूनी प्रक्रिया अगाडि बढ्नेछ ।’
कोशी ग्यास उद्योगका प्रबन्धक सचितकुमार उपाध्यायले पुरानो ¥यापिङ हटाएर नयाँ मजबुत खालको ¥यापिङको सामग्री मगाएकोले थप केही दिन समय लाग्ने बताए । ‘सजिलै ग्यास चोरी हुन नदिन सिलिण्डरमा दरिलो खालको सिलप्याक गर्न भारतदेखि ¥यापिङ मगाएका छौं’ उनले भने, ‘अहिलेसम्म आइपुगेको छैन । आएपछि परिवर्तन गरी मजबुत खालको सिलप्याक गरी बजारमा पठाउनेछौं ।’
उद्योगले अहिले दैनिक ७ देखि ८ हजार कोशी ग्यासको सिलिण्डर उत्पादन गरिरहेको छ । देशभरिमा ३ सय ९६ वटा डिलर रहेको उद्योगका विराटनगरमा मात्र ३२ वटा डिलरमार्फत् ग्यास उपभोक्ताका घरमा पुग्ने गरेको छ ।