मिक्लाजुङ/ मिक्लाजुङको बर्खेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठले गाउँमा सबैका लागि मिलनसार शिक्षकको परिचय बनाएका थिए । शिक्षण पेशासँगै सामाजिक सेवामा सक्रिय र विकासप्रेमी हुँदाहुँदै पनि नेत्रविक्रम चन्द (विप्लव) समूहका कार्यकर्ताले उनको बर्बरतापूर्वक हत्या गर्नुका पछाडि चन्दा विवाद मुख्य कारण भएको देखिएको छ ।

आधारभूत विद्यालयका प्रअ श्रेष्ठको हत्या गर्नुअघि अर्थात् गत असारमा विप्लव समूहका कार्यकर्ता आएर १० हजार रुपैयाँ चन्दा मागेका थिए । तर, श्रेष्ठले आधारभूत विद्यालयको शिक्षकको मासिक तलब धेरै नहुने भएकाले मागेजति दिन नसक्ने बरु ५ हजार रुपैयाँसम्म सहयोग गरेका थिए । तर, विप्लवका कार्यकर्ताले मागेजति नै चन्दा दिनुपर्ने, ५ हजार रुपैयाँ नलिने भनेर त्यतिकै फर्केका थिए । हत्या गर्नु केही दिन अघिमात्र तिनै कार्यकर्ता ‘बाहिरबाट सरहरू आउँदै छन्, उनीहरूका लागि एउटा खसी चाहियो’ भन्दै फेरि आएको स्थानीय बासिन्दाले बताए ।

अढाई दशकदेखि शिक्षण पेशामा संलग्न श्रेष्ठ बामपन्थी धारकै एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन मिक्लाजुङ गाउँ कमिटी सदस्य पनि थिए । उनको हत्या चन्दामै नमिलेर भएको स्थानीयको दाबी छ । आफ्नो नाम बताउन नचाहने एक स्थानीयले भने, ‘चन्दाको रकम थोरै भएको भन्ने सामान्य कुरामा विप्लव समूहले एउटा इमान्दार शिक्षकको हत्या ग¥यो ।’

मङ्सिर २३ गते बिहान घरैमा रहेका प्रअ श्रेष्ठलाई करिब साढे ६ बजे ६–७ जनाको समूहमा आएका अज्ञात व्यक्तिहरूले अपहरण गरी घर नजिकैको जङ्गलतर्फ लगेको स्थानीय बासिन्दाले देखेपछि सोधीखोजी गरेका थिए । प्रत्युत्तरमा ती अपरिचित व्यक्तिहरूले ‘सरलाई सम्झाई बुझाई गरेर पठाउँछौं’ भनेका थिए । श्रेष्ठलाई अज्ञात समूहले अपहरण गरेको खबर गाउँमा फैलिएसँगै स्थानीय सात–आठ जना युवाको समूह खोजीमा निस्कियो ।

जङ्गलमा खोज्दै जाँदा घरबाट करिब १ किलोमिटर पश्चिमतर्फको जङ्गलमा घाँटी रेटी हत्या गरिएको अवस्थामा श्रेष्ठको शव भेटिएको थियो । उनको घाँटीमा काटिएको गहिरो चोट थियो भने दुवै हात बाँधिएको थियो । बिहान करिब ८ बजे श्रेष्ठको शव भेटिएको स्थानभन्दा करिब ५० मिटरमाथि उनले प्रयोग गर्ने फोन, टोपी र चप्पल भेटिएको थियो, जहाँ रगत छरिएको थियोे । सोही दिन नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले प्रधानाध्यापक श्रेष्ठले सुराकी गरेको आरोप लगाउँदै हत्या गरेको जिम्मा लिएको विज्ञप्ति जारी ग¥यो ।

श्रेष्ठकी श्रीमती ५३ वर्षीया धनकुमारी श्रेष्ठले आफू बिहानै घरबाट निस्किएर बाख्रालाई घाँस पानी दिन गएको बेला सो घटना भएको बताइन् । आइतबार राति पनि दुई जना अपरिचित घर आसपासका क्षेत्रमा आएको देखेपनि खासै वास्ता नगरेको उनको भनाइ छ । उनले आफ्ना श्रीमान्को विभत्स तरिकाले हत्या गर्नेलाई हदैसम्म कारबाही गर्न माग गरेकी छन् । श्रेष्ठका श्रीमती, एक छोरा र छोरी छन् । छोराछोरी दुवैको विवाह भइसकेको छ । घरमा श्रीमान् र श्रीमतीमात्रै बस्दै आएका थिए ।

प्रहरी पुग्न ७ घण्टा
प्रधानाध्यापक श्रेष्ठको हत्या भएको जानकारी प्रहरीले बिहान करिब ८ बजे पाइसकेको भए पनि घटनास्थलमा करिब दिउँसो ३ बजे मात्र पुगेको थियो । मिक्लाजुङ गाउँपालिका–१ आइतबारेस्थित प्रहरी कार्यालयबाट करिब ३ घण्टामा घटनास्थल पुगिन्छ । प्रधानाध्यापक श्रेष्ठको विभत्स तरिकाले हत्या भएपछि स्थानीयबासी त्रासमा छन् । मिक्लाजुङ–१ साविक रमितेखोला गाविसमा सुरक्षा निकाय छैन । विगत लामो समयदेखि सशस्त्र प्रहरी बेस क्याम्प स्थापनाका लागि माग भइरहे पनि कतैबाट सुनुवाइ नभएको वडाध्यक्ष नरबहादुर राईले बताए । प्रधानाध्यपक श्रेष्ठको हत्या भएपछि गाउँमा बस्न असुरक्षित महसुस भएको स्थानीय गोविन्द श्रेष्ठले बताए ।

प्रहरी र विप्लवको चपेटामा बर्खेवासी
मोरङको विकट पहाडी क्षेत्र मिक्लाजुङ ‘विप्लव’ समूहको परेडस्थल मानिन्छ । ‘विप्लव’ समूहको सैन्य तालिम समेत त्यहाँ हुँदै आएको बुझिएको छ । पछिल्लो समय बर्खेलगायत क्षेत्रमा प्रहरीले गस्ती बढाएको थियो । स्थानीयवासीलाई प्रहरीले अनावश्यक रूपमा शङ्का गरी तनाव दिने, मोबाइल जफत गर्ने जस्ता कार्य गरेको एक स्थानीयले बताए । ‘प्रहरी आउँछ हामीलाई तनाव दिन्छ’ एक स्थानीय बासिन्दाले भने, ‘विप्लव कार्यकर्ता आउँछन्, हामीलाई नै तनाव दिन्छन् । अब यहाँ कसरी बस्ने ?’