विराटनगर / विराटनगर–७ जलजलाचौकस्थित ‘वाइट हाउस’ मा तस्करीको कपडा आउने गरेको पाइएको छ । ‘क्यारिङ’ मार्फत् भारतदेखि तस्करीको अवैध कपडा आउने गरेको पाइएको हो ।
तरुणकुमार साह (रौनियार) ले सञ्चालन गरेको ‘वाइट हाउस’ को गोदाममा बिहीबार दिउँसो मोरङ प्रहरीले छापामारेर ठूलो परिमाणमा कपडा बरामद गरेपछि तस्करीको कपडा आउने गरेको पुष्टि भएको हो ।
मोरङ प्रहरीले साहको गोदामबाट भन्सार छलेर ल्याएको ३३ लाख ४१ हजार ९ सय बराबरको कपडा बरामद गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए । साहको गोदामबाट ३ हजार २ सय ८३ थान सर्ट, २३ पिस जम्फर र ३५ थान पाइण्ट बरामद गरेको हो । बरामद गरेको कपडा क्यारिङमार्फत् तस्करको समूहले साहको गोदाममा ल्याउने गरेको थियो । ‘भन्सार छलेर अवैध रूपमा कपडा ल्याउन व्यापारीले ‘क्यारिङ’ गर्नेको समूहलाई जिम्मा दिने गर्दछन्’ यस क्षेत्रका जानकार स्रोतले भन्यो, ‘व्यापारीले प्रतिथान कपडाको हिसाबले क्यारिङ गर्नेलाई पैसा दिने गर्दछन् ।’
भारतदेखि विराटनगरमा क्यारिङमार्फत् कपडा ल्याउन मूल्य अनुसार दररेट मिलाएर क्यारिङ गर्नेले रकम लिने गरेका छन् । कपडा क्यारिङ गर्नेले दिएको जानकारी अनुसार भारतदेखि विराटनगरस्थित पसलको गोदामसम्म ल्याउँदा ‘क्यारिङ’ गर्नेले कपडा अनुसार मूल्य निर्धारण गरेका छन् । सर्टको प्रतिथान २० देखि २५ रूपैयाँ, पाइण्टको ४० देखि ५० रुपैयाँ, कुर्ता सुरूवालको प्रतिथान १५ रुपैयाँ, जम्परको २५ देखि ३० रुपैयाँ र सेन्डो भेस्टको २ देखि ४ रूपैयाँ लिने गरेका हुन् ।
‘कपडा व्यापारीले भारतीय बजारमा गएर कपडा खरिद गरेपछि भन्सारमा राजस्व नतिर्न क्यारिङ गर्नेलाई जिम्मा दिने गरेका छन्’ स्रोतले भन्यो, ‘क्यारिङ गर्नेले पनि हाइरिस्कमा कपडा गन्तव्यसम्म पु¥याउने जिम्मा लिने गर्दछन् ।’ व्यापारीले क्यारिङ गर्नेलाई कपडा जिम्मा लगाएपछि बाटोमा प्रहरीले समात्यो भने कपडाको मूल्य क्यारिङ गर्नेले व्यहोर्नुपर्ने हुन्छ । तर, ठूला व्यापारीको कपडा क्यारिङ गर्ने तस्करले प्रशासनसँग राम्रो सेटिङ मिलाएको हुनाले पक्राउ नपर्ने स्रोतको भनाइ छ ।
‘कतिपय कपडाको भने क्यारिङ गर्नेले व्यापारीलाई धरौटी रकम पनि राख्नुपर्ने हुन्छ’ लामो समयदेखि कपडाका क्यारिङ गरेर छोडेका एक जनाले नाम नबताउने सर्तमा भने, ‘कसैले विश्वासको भरमा काम गर्ने भएकोले धरौटी रकम पनि नमाग्ने गरेका छन् । व्यापारीले धरौटी राख्नुको कारण बाटोमा आफ्नो कपडा प्रहरीले समातिहालेमा धरौटीबाट काट्नलाई राखेको हो ।’ कपडा सुरक्षितसँग व्यापारीको गोदाममा ल्याइपु¥याइदिएको खण्डमा क्यारिङ गर्नेलाई तोकिएको रकम दिने गरेका छन् ।
होलसेलदेखि खुद्रासम्म तस्करीको कपडा
भारतदेखि तस्करीको कपडा थोकदेखि खुद्रासम्मको कपडा पसलमा आउने गरेको पाइएको छ । क्यारिङ गर्नेले तस्करीको कपडा मोरङको विराटनगर, उर्लाबारी, विराटचौक र सुनसरीका इटहरी, इनरूवाका कपडा पसलहरूमा पु¥याउने गरेका छन् । सुनसरीमा सबैभन्दा बढी इटहरीमा लैजाने गरेको स्रोतको भनाइ छ । ‘सुनसरीमा धेरै कपडाका होलसेल पसलहरू भएकोले त्यहाँ तस्करीको कपडा जाने गरेको छ’ स्रोतले भन्यो, ‘अहिले लाखौंको कपडा क्यारिङ गर्नेहरूले लैजाने गरेका छन् ।’
पछिल्लो समय मोरङ प्रहरीले तस्करीको लाइन चलाएको भनेर आरोप लागेपछि सीमा नाकामा कडाइ गरेपछि सुनसरीको दक्षिण क्षेत्रबाट क्यारिङ गर्नेले कपडाको तस्करी गरी ल्याउने गरेका छन् । सुनसरीको अमरवा फारम, अमडुवा, बेलगछिया नाकाहरूबाट तस्करीको कपडा आउने गरेको छ । सो नाकाहरूबाट सुनसरीको बेलगछियाका विनोद मेहता, विनोद चौधरी, सन्तोष साह र विराटनगरका बब्लु अग्रवालले क्यारिङको कपडा ल्याउने गरेका छन् । प्रहरीले छापामारेर तरूणकुमार साह रौनियारको गोदामबाट ३३ लाख ४१ हजारको बरामद गरेको कपडा पनि सो समूहले भारतदेखि क्यारिङ गरी ल्याएको सुरक्षा स्रोतको दाबी छ ।
तस्करीको कपडा बोक्न भरियालाई ३ सयदेखि पाँच सय
भारतदेखि तस्करीको कपडा क्यारिङ गर्न भरिया प्रयोग गर्ने गरेका छन् । क्यारिङ गर्नेहरूले निश्चित रकम दिएर कपडा बोक्न भरिया लगाउने गरेका हुन् । क्यारिङ गर्नेले ३ सय रूपैयाँदेखि पाँच सय रूपैयाँसम्म भरियालाई दिने गर्दछन् । ‘कतिपयले कपडा बोकेको हिसाबले पनि भरियालाई पैसा दिने गरेका छन्’ –एक कपडाको क्यारिङ गर्नेले भने ।
क्यारिङ गर्नेले राति र बिहानपख कपडा भारतदेखि तस्करी गरी ल्याउने गर्दछन् । रातिको १० बजे पछिदेखि खुल्ला सीमाको फाइदा उठाउँदै क्यारिङ गर्नेले तस्करीको कपडा भरिया प्रयोग गरी नेपाल ल्याउने गर्दछन् । भारतदेखि सुरक्षित ठाउँमा तस्करीको कपडा ल्याएर राख्ने गर्दछन् । त्यसपछि साइकल, सिटी सफारी, टेम्पोमा तस्करीको कपडा क्यारिङ गर्नेले व्यापारीको गोदामसम्म पु¥याउने गर्दछन् । कपडा आयात गर्दा रेडिमेडमा २ देखि ३०, थानमा १३ र सुतीमा ५ प्रतिशित कर लाग्ने भएकोले व्यापारीले क्यारिङलाई कपडा ल्याउने जिम्मा दिने गरेका हुन् ।