धरान/ धरानको झरना बचत तथा ऋण सहकारी संस्था लिमिटेड आफ्नै भवनमा सरेको छ ।
सहकारीको दशौं वार्षिक साधारणसभाका क्रममा बुधबारबाट धरान–९ आचार्यलाइनमा निर्मित भवनमा सरेको हो । १६ धुर जग्गामा बनेको भवनको उद्घाटन जिल्ला सहकारी सङ्घका वरिष्ठ उपाध्यक्ष एवम् धरान–१५ का अध्यक्ष नरेश इङ्वारमले गरे ।
यसअघि भानुचौकमा भाडाको घरमा सहकारी सञ्चालन हुँदै आएको थियो । संस्थाले कोरोना महामारीका बीच पनि १०.२० प्रतिशतले कारोबारमा वृद्धि गर्न सफल भएको अध्यक्ष मानबहादुर मगरले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा ४८ करोड ४४ लाख २६ हजार ८ सय ६७ रुपैयाँ कारोबार गर्न सफल भएकोमा आ.व. २०७६/०७७ मा ५३ करोड ३८ लाख ७९ हजार २ सय ७५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
सहकारीले यस वर्षदेखि मोबाइल बैङ्किङ सेवा र एटिएम सेवा पनि सञ्चालन गर्न सफल भएको छ । संस्थाले शेयर पुँजीमा पनि ८.०१ प्रतिशतले वृद्धि गरेको छ । अध्यक्ष मगरले भने, ‘२०७५/०७६ मा २ करोड ८२ लाख ४१ हजार ३ सय रहेकोमा आ.व. २०७६/०७७ मा ३ करोड ७ लाख १ हजार ३ सय रुपैयाँ पुगेको छ ।’ उनले शेयर सदस्यहरूलाई धन्यवाद पनि दिए ।
संस्थाले ७ करोड २४ लाख १० हजार ५ सय ४२ रुपैयाँ कुल आम्दानी गर्न सफल भएको छ । यो गत आ.व.को भन्दा ५ दशमलव २१ प्रतिशतले बढी हो । कोरोना महामारीका कारण खुद मुनाफा केही घटेको जनाइएको छ । आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्ने क्रममा अध्यक्ष मगरले ३६.७२ प्रतिशतले घटेको हो । यसवर्ष कुल मुनाफा ३३ लाख ३९ हजार ५ सय ३८ रुपैयाँ मात्रै भएको जनाइएको छ । अघिल्लो वर्ष ५२ लाख ७७ हजार ७ सय ११ रुपैयाँ रहेको थियो ।
संस्थाले विभिन्न सामाजिक कार्य गरेको छ । धुर्मुस–सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि एक लाख ११ हजार रुपैयाँ दिइएको छ । त्यस्तै बूढासुब्बा गोल्डकपका लागि ५० हजारलगायत विभिन्न सङ्घ–संस्था तथा व्यक्तिलाई रकम दिइएको प्रतिवेदनमा उल्लेख छ । हाल संस्थामा १ हजार ५ सय ५२ जना शेयर सदस्य रहेकोमा चालु आर्थिक वर्षमा दोब्बर सदस्य पु¥याउने लक्ष्य लिएको छ । त्यस्तै सहकारीको सेवा केन्द्रहरू पनि आवश्यक परेको स्थानमा थपिने जनाइएको छ ।