इटहरी/ चियाको सुर्को लिन बानी परेको तन्नेरी पुस्ता छाप्राका चिया पसल छाडेर क्याफेमा लत बसाउन थालेका छन् ।

यो लत बढेको धेरै भएको छैन । तीव्र सहरीकरणको प्रभाव युवाहरूमा परेको अनुभव हुन थालेको छ । आजकाल चिया पिउन क्याफेमा घण्टौं बस्ने गरेका छन् । सहरमा क्याफे खुल्ने क्रम पनि बाक्लिँदै गएको छ । क्याफेमा बसेर घण्टौं गफ गर्दै चियाको चुस्की लिने गरेका छन् ।

धरानका उमेश भण्डारी इटहरी झरेर मट्का चिया नखाई प्रायः धरान फर्कदैनन् । इटहरीमा फलैंचा क्याफेले सुरुमा मट्का चियाबाट व्यापारको थालनी गरेको थियो । त्यहीँबाट उनी मट्का पारखी बनेका छन् । फलैंचा मात्रै होइन, इटहरी रङ्गशालाअगाडि खोलिएको क्याफे स्टडममा पनि मट्का चिया सुरु गरेको छ ।

केही वर्ष विदेशमा रोजगारी गरेर आफ्नै नगर फर्किएका इटहरीका सन्तोष राई अहिले क्याफे स्टडम खोलेर आफ्नै ठाउँमा रमाइरहेका छन् । उनले मट्का चियासँगै कफी र नास्ता बिक्री गर्दै आएका छन् । ‘आफ्नै ठाउँमा केही गरौं भनेर लागिपरेको छु’–राईले भने । इटहरीको सङ्गीत चौकमा बाँसको फलैँचामा बसेर पुस्तक पढ्दै मट्कामा चिया पिउन पाइन्छ । फलैंचामा मुडामा बसेर कफी तथा मट्का चियाको चुस्की लिन पाइन्छ । पुस्तकप्रेमीको लागि पुस्तक पढ्दै माटोको कपमा चिया र कफी खाने वातावरण मिलाइएको युवा व्यवसायी दिव्यराज गुरुङ बताउँछन् । उनी भन्छन्, ‘नयाँ टेष्ट दिन सुरु गरेको क्याफेलाई युवापिँढीले मन पराएका छन् ।’

tea1

यी हुन् इटहरीका क्याफे
इटहरीमा सुरुमा व्यावसायिक रूपमा सञ्चालित पहिलो क्याफे हो अपस्टेयर्स । यो विराटनगर लाइनमा छ । यहाँको कफी धेरैले मन पराएका छन् । त्यस्तै इटहरीको धरान लाइनबाट आइतबारे जाने बाटोमा रहेको छ कफीलय क्याफे । यो पनि इटहरीको चर्चित क्याफे हो ।

इटहरी चोकबाट पूर्व लाइन, सेण्ट्रल प्लाजामा ग्राउण्ड्सक्याफे छ । सेण्ट्रल प्लाजा थाहा नभए पनि ग्राउण्ड्स इटहरीवासीको लागि परिचित नाम हो । कफी अपस्टेयर्सकै फ्रेन्चाइज मानिएको ग्राउण्ड्सले आफ्नो छुट्टै ब्राण्ड स्थापित गरिसकेको छ । त्यस्तै इटहरी चोकदेखि २ किमी उत्तर धरानलाइनमा रहेको छ मझेरी । आँपगाछी चोकमा १ वर्षअघि सुरु भएको मझेरी रेष्टुरेण्टले आफ्नो ब्राण्ड बनाइसकेको छ ।

इटहरी चोकको पश्चिममा छ चकलेट क्याफे । व्यवस्थित रूपमा सञ्चालित क्याफेमा प्रायः भीड नै हुन्छ । त्यस्तै इटहरी चोकदेखि २ किलोमिटर आँपगाछीमा भर्खरै कार क्याफे सञ्चालनमा आएको छ । यो पनि युवा पिँढीको रोजाइको क्याफेमा पर्छ ।