विराटनगर । गुणस्तरहिन भेटिएको ‘पूजा घ्यू’ नष्ट गरिएको छ । विराटनगर – ९ कलेज रोडस्थित विराट गोल्छा घ्यू प्याकेजिङले उत्पादन गरेको ‘पुजा घ्यू’ गुणस्तरहीन भएको पुष्टि भएपछि आइतबार नष्ट गरिएको हो ।

गुणस्तरहीन तथा मानव स्वास्थ्यका लागी हानिकारक घ्यू बजारमा बिक्रि भईरहेको उपभोक्ताले गुनासो गरेपछि खाद्य प्रविद्यि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले नमूना संकलन गरि गत असोज ३० गते प्रयोगशालामा पठाएको थियो । खाद्ययले गरेको परीक्षणमा गुणस्तरहीन भेटिएपछि नष्ट गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख राजकुमार रिजालले जानकारी दिए ।

पूजाको लागि प्रयो हुने उक्त घ्यू खाद्य प्रविद्यि तथा गुण नियन्त्रण कार्यालय, वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, जिल्ला प्रशासन कार्यालय र उपभोक्तावादी संस्थाले संयुक्त रुपमा बजार अनुगमन क्रममा खुल्ला र प्याकेजिङ भईसकेको घ्यूको नमुना सङ्कलन गरेको थियो ।

संकलित घ्यूको नमुना परिक्षण गर्दा मिसावट भएको पाईएपछि खाद्य प्रविद्यि तथा गुण नियन्त्रण कार्यालय परिसरमा खाडल खनी करिब दुई सय लिटर घ्यू नष्ट गरेको छ । कार्यालयले सोही स्थानमा ५०० ग्रामको ४६ वटा, १ केजीको एउटा, ४०० ग्रामको ३८ वटा र २०० ग्रामको ११ वटा घ्यूको वट्टा बरामद गरि नष्ट गरेको जनाएको छ ।

रमेश गोल्छाले संचालन गरेको उद्योगले २०६९ सालदेखि विराट गोल्छा घ्यू प्याकेजिङ उद्योग मार्फत घ्यू उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । मानव स्वास्थ्यलाई असर गर्ने गुणस्तरहीन घ्यू उत्पादन गरिने उद्योगलाई पनि खाद्य ऐन २०२३ अन्र्तगत कारवाही हुने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख रिजालले जानकारी दिए ।

उद्योग संचालक विरूद्ध मुद्दाको तयारी

न्यून गुणस्तरहिनको घ्यू उत्पादन गरिने उद्योगका संचालक रमेश गोल्छा विरूद्ध खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले मुद्दा दायर गर्ने भएको छ । न्यून गुणस्तरको घ्यू भेटिएको उद्योग संचालक गोल्छाको बयान सकेकोले कार्यालयले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय विराटनगरमा बुझाएको छ । सरकारी वकिलको कार्यालयले मागदाबी सहित मोरङ अदालतमा गुणस्तरहिन घ्यू उत्पादन गर्ने संचालक गोल्छा विरूद्ध अभियोग दर्ताको तयारी गरेको हो । कार्यालयले अदालतमा खाद्य ऐन अन्र्तगत मुद्दा दायर गर्ने तयारी गरेको छ । ‘उद्योगका संचालकलाई प्रतिवादी बनाएर अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएका छौं,’ खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख राजकुमार रिजालले भने, ‘सरकारी वकिलको कार्यालय मार्फत अभियोग अदालतमा दर्ता हुनेछ ।’ खाद्य ऐनमा न्यून गुणस्तरको खाद्य बस्तु उत्पादन गरिनेलाई ५० हजार रुपैयाँ जरिवना वा पाँच वर्षसम्म कैदवा वा दुवै सजाय हुनसक्ने कानुनी प्रावधन रहेको छ ।

चालु आर्थिक वर्षको चार महिनामा एक दर्जन उद्योग कारवाहीको दायरमा आएको कार्यालयले जनाएको छ । खाद्य प्रविधीले अनुज्ञा पत्र बेगार, लबल नभएकोलगायतका उद्योगलाई जिल्ला प्रसाशन र खाद्यसँग सम्बन्धित अदालतमा अभियोग दर्ता गर्दै आएको छ ।

यता विराट गोल्छा घ्यू प्याकेजिङका सञ्चालक रमेश गोल्छाले आफुले खानका लागी नभई पुजामा प्रयोग गर्नका लागी घ्यू उत्पादन गर्दै आएको बताए । गुणस्तरमा ध्यान दिदा दिदै पनि यस्तो हुन गएकोले आगमी दिनमा गुणस्तरमा ध्यान दिने उनको भनाई छ ।