धरान । निजी तथा संस्थागत विद्यालयको सङ्गठन प्याब्सन, एनप्याब्सन र एसीसी धरानले मङ्सिर २४ गतेदेखि नगरभित्रका विद्यालय खोल्ने आसयको अल्टिमेटम दिएपछि धरान उपमहानगरपालिका ‘के गर्ने भन्ने’ दबावमा परेको छ ।

धरान उपमहानगरका नगर प्रमुख तिलक राईले ‘विद्यालय सञ्चालन गर्न दिने गरी उपमहानगरबाट कुनै त्यस्तो निर्णय नभएकाले’ निजी तथा संस्थागत विद्यालयको अल्टिमेटम गैरजिम्मेवारपूर्ण भएको बताए । ‘कोरोनाको जोखिम अहिले छैन भन्ने अवस्था पनि छैन’–उनले भने ।

राईले थपे, ‘नगरपालिकाले निर्णय लिएको छैन, विद्यालय खोल्नेभन्दा पनि व्यवस्थापन गर्ने भन्ने कुरा हो । निजी विद्यालय मात्रै खुलेर पनि हुँदैन, सामुदायिक विद्यालय पनि खुल्नुपर्छ । तिनीहरूकाे हकमा पनि निर्णय हुनुपर्छ ।’ यता शिक्षा महाशाखा प्रमुख रत्नबहादुर कटुवालले पनि आइतबारबाट विद्यालय खुल्ने भन्ने निर्णय नभइसकेको दाबी गरे । माेडालिटी माग गरिएकाले कुन माेडालिटी धरानकाे हकमा उपयुक्त हुन्छ साेअनुसार अगाडि बढ्ने उनले बताए । 

प्रदेश १ को राजधानी विराटनगरपछि सुनसरीको धरान नै कोरोना भाइरसको ‘हटस्पट’ क्षेत्र हो । तर, यहाँका निजी तथा संस्थागत विद्यालयहरूले अन्यत्र पनि विद्यालय खुलेको भन्दै हतारोमा विद्यालय लगाउने पक्षमा देखिएका छन् । अभिभावकले यसलाई शुल्क उठाउने ‘प्रपञ्च’ को रूपमा लिएका छन् ।

धरान उपमहानगरले निजी तथा संस्थागत विद्यालयका सङ्गठनसँग ‘विद्यालय खुलाउनेबारे कार्यविधि’ माग गरेको थियो । मङ्सिर १८ गतेसम्ममा कार्यविधि बुझाउनका लागि नगरले आग्रह गरेको थियो । धरान एसीसीका अध्यक्ष राजेन्द्र गुरुङका अनुसार उपमहानगरले मागेअनुसारको सातवटा ‘मोडालिटी’ बुझाएका छौं ।

उक्त मोडालिटीबारे नगर प्रमुख राईले हालसम्म मुख खोलेका छैनन् भने उपप्रमुख मञ्जु भण्डारी सुवेदीले निजी तथा संस्थागत विद्यालयलाई आइतबारबाट विद्यालय खोल्न सक्ने भनी मौखिम जवाफ आफूहरूले प्राप्त गरेको अध्यक्ष गुरुङले बताए । गुरुङले मोडालिटीअनुसार मावि तहको र प्राथमिक तहको कक्षाहरू सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गरेर ‘सिफ्ट’ अनुसार अध्यापन गराउने बताए ।

यता शुल्कको विषय पनि पेचिलो बन्दै गएको छ । अभिभावकहरूले गत मङ्गलबार धरान उपमहानगरपालिकामा धर्ना दिँदै बुधबार शिक्षा महाशाखामा पुगेर अल्टिमेटम दिएका थिए । एकसाताभित्रमा नगरले शुल्क निर्धारण गर्ने भन्दै नगर प्रमुख राईले आश्वासन समेत दिएको धरान अभिभावक विद्यार्थी परिवारका सचिवालय सदस्यमध्येका विकास भाटीले बताए । यसबारे पनि नगर प्रमुख राईले सम्बन्धित सबै सरोकारवाला पक्षसँग छलफल भइरहेको बताए ।

नगर प्रमुखमाथि उपप्रमुखको गम्भीर आरोप

धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारीले नगर प्रमुख तिलक राईमाथि विद्यालय सञ्चालन गर्ने विषयमा हालसम्म निर्णय नगर्नुलाई ‘ शैक्षिक वर्ष ध्वस्त बनाउने खेल’ भन्दै गम्भीर आरोप लगाएकी छन् । नगर प्रमुख राईले धरानलाई अनिर्णयको बन्दी बनाएको भन्दै कटाक्ष गरेकी छन् । उनले धरान जत्तिकै जोखिम भएका अन्य पालिकाहरूमा विद्यालय खोल्ने निर्णय भएको अवस्थामा धरानमा चाहिँ ‘कसरी विद्यालय सञ्चालन गर्ने भन्नेसम्मको बैठक नबसाएर अनिर्णयको बन्दी’ बनाएको बताइन् ।

उनले भनिन्, ‘विद्यालयहरू खोल्न तयार छन् । अविभावक पनि विद्यालय खोल्नुपर्छ भन्ने पक्षमै छन् । आफूले पनि यसरी खोल भनेर भन्न नसक्ने अनि वहाँहरूले यसरी खोल्छौं भनेर मोडालिटी लिएर आउँदा पनि निर्णय नै नगरिदिने ? यसरी शैक्षिक सत्र ध्वस्त हुँदैन ?’ आखिर उपप्रमुख भण्डारीले यतिधेरै चासो राख्नुको पछाडि उनको श्रीमान्को लगानीमा धरानमा एउटा निजी स्कुल रहेको एक अभिभावकले बताए । ‘यहाँ सबैको केही न केही इन्ट्रेस्ट छ, प्रमुखले निर्णय भएको छैन भनेको अवस्था उहाँमात्रै किन खोल् भन्ने पक्षमा हुनुहुन्छ त ?’ ती अभिभावकले नाम नछाप्ने शर्तमा भने ।