ताप्लेजुङ । १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत् आयोजनालाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले निर्माण अनुमति दिएको छ । स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडले निर्माण गर्न लागेको आयोजनालाई मन्त्रालयले अनुमतिपत्र दिएको हो ।
उर्जा मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेद्वारा हस्ताक्षरित अनुमतिपत्र लिमिटेडले प्राप्त गरेको जनाएको छ । अनुमतिपत्र वहाल अवधि २०७७ असोज २५ गतेदेखि वि.सं. २११२ असोज २४ गते (३५ वर्ष) तोकिएको छ । पाँच वर्षको अवधिमा आयोजना सम्पन्न गर्ने उद्देश्यसहित सुरुवातको १ वर्षको अवधिमा भौतिक संरचना निर्माण प्रारम्भ गर्ने लिमिटेडले जनाएको छ ।
लिमिटेडका संस्थापक अध्यक्ष भानेन्द्रकुमार लिम्बुका अनुसार तत्काल आयोजनास्थलमा देखिने गरी काम सुरुवात हुनेछ । आयोजनाको लागत २६ अर्ब रुपैयाँ छ । लागतमध्ये ७५ ऋण र २५ प्रतिशत स्वपुँजी (इक्विटी) लगानी हुन लागेको छ ।
आयोजनाको कुमारी बैंकको नेतृत्वमा वित्तीय व्यवस्थापन गर्ने सहमति भएको अध्यक्ष लिम्बुले जानकारी दिए । उनका अनुसार २५ प्रतिशत इक्वेटीमा भने स्थानिय समुदाय र सर्वसाधारणको पनि लगानी हुनेछ । लिम्बुका अनुसार तमोर र मेवा दुवै हिमनदीको पानी भएकाले आयोजना आकर्षक छ । आयोजनास्थलमा २१ हेक्टर सरकारी र १५ हेक्टर निजीको जग्गा पर्छ । जग्गाको व्यवस्थापन चाँडोगरी टुंग्याउने कम्पनीले जनाएको छ ।
सरकारीबाहेकको बाँकी जग्गा क–कसको हो भनि पहिचान गर्न समय खर्चिनुबावहेक खरिद प्रक्रियामा समस्या छैन् । उत्पादित विद्युत् ढुङेसाँघस्थित नेपाल विद्युत् प्राधिकरणको सवस्टेशनमा जडान गरिने भएको छ । ग्रीड कनेक्सन एग्रिमेन्ट विद्युत् प्राधिकरणअन्तर्गत ग्रीड सञ्चालन विभागसँग सहमति गरेको छ ।अबको १ वर्ष भौतिक संरचना निर्माणसहित टेण्डर डकुमेन्ट तयार, सडक स्तरोन्नति र जग्गा खरिद लगायतका काम गर्ने योजना बनाएको छ ।
जिल्लाको फुङलिङ नगरपालिका, मिक्वाखोला गाउँपालिका, मेरिङदेन गाउँपालिका र आठराई त्रिवेणी गाउँपालिका आयोजनास्थलमा पर्छ । मिक्वाखोला गाउँपालिका र मेरिङ्देन गाउँपालिका भएर बग्ने मेवा खोलाको पानी तमोर नदिमा मिसाइनेछ । मेवा र तमोर नदीको पानी फर्काउन विभिन्न संरचना बन्ने भएका छन् । डाइभर्सन, इनटेक, बेडलोड, ट्रयाप, ग्राभेल रोक्ने संरचना, बालुवा थिग्य्राउने पोखरी जस्ता संरचनाहरु छुट्टाछुट्टै गरी बनाइनेछ ।