धनकुटा/ प्रदेश १ का सय पर्यटकीय गन्तव्यमा सूचीकृत धनकुटा छथरजोरपाटी गाउँपालिकाको ‘हलहले पटेक डाँडा’ पर्यटनको केन्द्रको रूपमा विकास गरिनुपर्ने सरोकारवालाले बताएका छन् ।

धनकुटाबाट प्रकाशित जनविश्वास साप्ताहिक पत्रिकाको २९ औं वार्षिकोेत्सवको अवसरमा छथरजोरपाटी–६ स्थित पटेकडाँडाको हलहलेमा रहेको उर्गेन देछेन छ्योलिङ गुम्बामा आइतबार सम्पन्न कार्यक्रममा सहभागी वक्ताले यस्तो बताए । छथरजोरपाटी गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बूले छथरजोरपाटीको गुराँसे ध्वजे पर्यटन क्षेत्रको एउटा अंश हलहले पटेक क्षेत्र रहेको बताए । उनले हलहले पटेक पर्यटकीय क्षेत्रको पर्यटन पूर्वाधारको विकास गर्न पूर्ण रूपमा डीपीआर तयार गरी सोही बमोजिम हालसम्म १ करोड ५७ लाख रुपैयाँ लगानी भइसकेको जानकारी दिए ।

छथर गाउँपालिका, लालीगुराँस नगरपालिका, महालक्ष्मी नगरपालिका र छथरजोरपाटी गाउँपालिकाको सङ्गमस्थल पटेक डाँडा पर्यटकीयस्थल समुद्र सतहदेखि २६ सय ५७ मिटर उचाइमा रहेको छ । पटेक डाँडाबाट साविक पूर्वाञ्चलको १६ जिल्ला र कुम्भकर्ण, कञ्चनजङ्घा, मकालु लगायत हिमशृङ्खलाहरू देख्न सकिने मुख्य विशेषता रहेको छ भने सूर्योदयको दृश्य मुख्यरूपमा अवलोकन गर्न सकिन्छ ।

पटेक डाँडाको आसपासमा मार्गा पोखरी, सभा पोखरी, सिंहदेवी थानमा ‘माङ’ (देवीदेवता) को दर्शन गर्न सकिन्छ भने हलहलेमा रहेको उर्गेन देछेन छ्योलिङ गुम्बामा बुद्ध भगवानको दर्शन गर्न पाइने छथर जोरपाटी पर्यटन विकास समितिका अध्यक्ष लाक्पा शेर्पाले बताए । उनले हलहले पटेक डाँडामा पर्यटकीय पूर्वाधार तयार गर्न पर्यटन विकास तथा संस्कृति मन्त्रालयको १ करोड लगानीमा ४–४ मिटर चौडा दुईतर्फी हिँडडुल गर्न मिल्ने २ सय ५० वटा सिँढी निर्माण भइसकेको बताए ।

त्यसैगरी हालसम्म प्रदेश १ को वन, वातावरण, उद्योग तथा पर्यटन विकास मन्त्रालय विराटनगरबाट २० लाख, स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम अन्तर्गत सांसद् राजेन्द्रकुमार राईबाट २० लाख र छथरजोरपाटी गाउँपालिकाबाट पटेकडाँडासम्म जाने मोटरबाटोको ट्रयाक खोल्न र वृक्षरोपण गर्न १७ लाख गरी जम्मा १ करोड ५७ लाख लगानी भइसकेको गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बूले जानकारी दिए । जनविश्वास साप्ताहिक पत्रिकाका प्रधान सम्पादक एवम् प्रकाशन अध्यक्ष सञ्जय सन्तोषी राईको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

patake-dada patake-dadaa