भोजपुर/ भोजपुर जिल्लाको आमचोक गाउँपालिकामा रहेको लेमलेम्माहुद भनेर चिनिने वनझाँक्री भीर प्रचार– प्रसार नहुँदा ओझेलमा परेको छ । गाउँपालिकाको वडानम्बर २ यु मा रहेको लेमलेम्माहुदले परिचित झाँक्री भीर प्रचार–प्रसार अभावमा ओझेलमा परेको हो ।

प्रचुर पर्यटकीय सम्भावना रहे पनि प्रचार–प्रसार नहँुदा झाँक्री भीर ओझेलमा परेको आमचोक गाउँपालिका–२ दाङ्खाका आर.के. बान्तावाले बताए । उनले भने, ‘भीरमा रहेका वनझाँक्री बस्ने दुलोहरूको भिडियो खिचेर युट्युबमा राखेर प्रचार गर्नसके आन्तरिक तथा वाह्य पर्यटक भिœयाउन सहयोग मिल्थ्यो, यसप्रति स्थानीय सरकारको ध्यान जानुपर्छ ।’ प्राचीन समयमा भीरभरि रहेका दुलोहरूमा वनमान्छेहरू बस्ने गरेको बूढापाकाको भनाइ उद्धृत गर्दै बान्तावाले जानकारी दिए ।

ओडारे भीर, झाँक्री दुलो लगायत नामले चिनिने झाँक्री भीर ओझेलमा परेपछि स्थानीय युवासमेत संरक्षणमा जुट्न थालेको स्थानीय सरस्वती माध्यमिक विद्यालय युका प्रधानाध्यापक उत्तम राईले बताए । संरक्षणमा जुटेका युवाहरूले ओझेलमा परेको झाँक्री भीरको प्रचार–प्रसारमा सहयोग गर्न पनि सबैलाई आग्रह गरेका छन् ।

पर्यटकीय भीर संरक्षणमा स्थानीय युवा जुटेपछि झाँक्री भीरको डीपीआर गर्ने योजना बनाइएको वडाध्यक्ष भीमप्रसाद राईले बताए । लेमलेम्माहुद डीपीआरका लागि गाउँपालिकाबाट दुई लाख बजेटसमेत विनियोजन भएको वडाध्यक्ष राईले जानकारी दिए । किरात राई बान्तावा भाषामा ‘लेमलेम्मा’ को अर्थ ‘वनमान्छे’ हुने स्थानीय निमप्रसाद राईले बताए । राईका अनुसार भीरभरि साना–ठूला गरी ५० को हाराहारीमा वनमान्छे अर्थात् लेमलेम्मा बस्ने दुलो रहेका छन् ।

jhakri-dulo-2 jhakri-dulo-1