विजयपुर । भोजपुर टेम्केमैयुङ गाउँपालिका–८ गोगनेमा लामो समयपछि नयाँ स्वास्थ्य चौकी बनिरहेको छ ।

यसअघिको स्वास्थ्य चौकी जीर्ण भइसके पनि मर्मत सम्भार हुन सकेको थिएन । सङ्घीय सरकार अन्तर्गतको स्वास्थ्य मन्त्रालयले बजेट विनियोजन भएपछि चार कोठे स्वास्थ्य चौकी निर्माण भइरहेको हो । स्वास्थ्य चौकीका लागि मन्त्रालयले ६२ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

निर्माणको जिम्मा मुकुल निर्माण सेवाले पाएको छ । चालू आर्थिक वर्षको चैत मसान्तसम्म भवन निर्माण सम्पन्न हुने निर्माण सेवाका गेरेन्द्र खड्काले जानकारी दिए । उनका अनुसार हालसम्म ३० प्रतिशत काम सम्पन्न भइसकेको छ । टेम्केमैयुङ–८ का वडाध्यक्ष कृष्णबहादुर बानियाँले गत वर्ष नै मन्त्रालय बजेट विनियोजन गरेको बताए । ६२ लाख रुपैयाँ विनियोजन भए पनि भ्याटसहित ४१ लाख रुपैयाँमा ठेक्का लागेको उनले बताए ।

स्वास्थ्य चौकीका लागि स्थानीय माबुरानी राईले ७ रोपनी जग्गा निःशुल्क दिएकी छन् । यसअघि पनि चार रोपनी जग्गा दिएकी  थिइन् । स्वास्थ्य चौकीका लागि जग्गा अपुग भएपछि खरिदका लागि माग गर्दा पुनः तीन रोपनी थपिदिएको अध्यक्ष बानियाँले बताए ।