आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी ।  असत्यमाथि सत्यको विजयका रुपमा मनाइने यो पर्व मर्यादापुरुषोत्तम श्रीरामले आसुरी शक्तिको प्रतीक रावणमाथि विजय प्राप्त गरेको अथवा शक्तिस्वरुपा देवी भगवतीले महिषासुर दैत्यको वध गरी विजयश्री प्राप्त गरेको पुनीत सम्झनामा मनाउने गरिन्छ ।

घटस्थापनाका दिन स्थापित घडाबाट अभिषेक गरी मान्यजनका हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । दशैँघरमा प्रतिपदाको दिनदेखि गरिएको पूजाआराधना विधिपूर्वक आज विसर्जन गरिन्छ ।

आजको देवी विर्सजनकाे सुभसाइत बिहान १० बजेर ११  मिनेटपछि रहेकाे छ ।भने,  १० बजेर १९  मिनेटपछि टीका लगाउनेका लागि उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

मीठो खाने, राम्रो लगाउने तथा पारिवारिक भेटघाट गरिने र स्नेह एवम् सद्भाव अभिवृद्धि गर्ने पर्वका रुपमा बडादशैँ पर्व धार्मिकमात्र नभएर सामाजिक–सांस्कृतिक पर्वका रुपमा समेत महत्वपूर्ण मानिन्छ ।

आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्ने गरिन्छ  । कृषिका औजार अन्नबालीको पूजा गर्ने परम्पराका रूपमा पनि दशैँलाई लिइन्छ ।