धरान । कोरोना भाइरस फैलिन सुरु भएयता भएका विभिन्न अनुसन्धानले ‘ए र एबी’ रक्त समूहका मानिसलाई कोरोनाको बढी संक्रमण हुने गरेको तथ्य सार्वजनिक गरेको छ ।

बुधबार सार्वजनिक भएका स्वतन्त्र दुई अध्ययनले यस्तो तथ्य बाहिर ल्याएको हो । चीनको बुहान प्रान्तबाट सुरु भएयता गरिएका अनुसन्धानले ए र एबी रक्त समूहका मानिसलाई धेरै प्रभावित बनाउने गरेको हो ।

‘ओ’ रक्त समूहलाई भने कम जोखिम हुने गरेको छ । ओ रक्त समूह भएका मानिसमा सर्ने सम्भावना कम हुने गरेको ती अध्ययनले देखाएको छ । अन्य रक्त समूहभन्दा ए र एबीका मानिसलाई तुलनात्मक रूपमा बढी लाग्ने गरेको तथ्य बाहिर आएको हो ।

ओडेन्स विश्वविद्यालय हस्पिटल र युनिभर्सिटी अफ साउदर्न डेनमार्कको अनुसन्धानकर्ताले गरेको रक्त समूहको जाँचबाट यस्तो तथ्य सार्वजनिक गरेको हो । जसमा ४ लाख ७३ हजार कोरोना संक्रमितको तथ्य जाँच गरिएको थियो ।

मानिसको रक्त समूहको आधारमा एन्टिजेन र एन्टिबडी प्रोटिनको आधारमा जाँच गरिन्छ । सो समूहका मानिसलाई चाँडो भाइरसले आक्रमण गर्ने गरेको छ भने अन्य रक्त समूहलाई कम प्रभावित बनाउने गरेको छ ।

ओडेन्स विश्वविद्यालयका डा. टोरबेन बारिङटनका अनुसार ओ रगत समूहका मानिसलाई अन्य तीन समूहका मानिसको तुलनामा कोरोना सर्ने र सरेपछि हुने जटिलता कम जोखिम रहेको पाइएको छ ।

क्यानडामा गरिएको अर्को अध्ययनमा ए र एबी रक्त समूह भएका मानिसलाई कोरोना लागेको अवस्थामा भेन्टिलेसन जस्तो उपकरणको आवश्यकता बढी रहेको पाइएको छ ।

अहिले वैज्ञानिक तथा अनुसन्धानकर्ताले कोरोना भाइरसले कुन रक्त समूहलाई कति प्रभावित बनाउँछ त्यो आधारमा संयन्त्रको विकासमा जुटेका छन् । युनिभर्सिटी आफ ब्रिटिस कोलम्बियाका डा. माइपिन्दर सेखनले कोरोना भाइरस कुन रगत समूहमा कति लामो समयसम्म जोखिम रहन्छ त्यो आधारमा संयन्त्रका विकासमा जुटेको बताए ।