ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम स्थित प्राईम बैंकका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

असोज १ गते सार्वजनिक सवारी साधन मार्फत विराटनगरबाट सदरमुकाम आएका ति कर्मचारीमा विहिबार संक्रमण पुष्टि भएको हो । संक्रमणको सामान्य लक्षण देखिए पछि उनि आफैँले जिल्ला अस्पतालमा गई बुधबार स्वाब दिएका थिए ।

पिसिआर मार्फत गरिएको परिक्षणमा कोरोना संक्रमण पुष्टि भएको र हाल जिल्ला अस्पताल स्थित आईसोलेशनमा राखिएको प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाईले जानकारी दिए । चापागाईका अनुसार बैंकका अन्य ६ जना कर्मचारीको रिपोर्ट भने नेगेटिभ आएको छ । उनिहरु सबैलाई क्वारेन्टिनको मापदण्ड अपनाई घरैमा बस्न आग्रह गरिएको छ ।

यता बुधबार संक्रमण पुष्टि भएका फक्ताङलुङ गाउँपालिकाका बृद्धलाई समेत जिल्ला अस्पतालको आईसोलेशनमा राखिएको छ । उनिहरु दुवै जनाको स्वास्थ्य अवस्था सामान्य छ ।

विरेन्द्रचौकका पसल बन्द हुने

यसैबीच प्राईम बैंक रहेको विरेन्द्रचौकका बजार पसल भने अर्को सुचना नहुँदा सम्म बन्द गर्न प्रहरीले अनुरोध गरेको छ ।

बैंकका संक्रमित कर्मचारी संग बढि सम्पर्क भएको क्षेत्र भएकाले विरेन्द्रचौकका बजार पसल बन्द गर्न र स्थानीयलाई घरैमा बस्न आग्रह गरिएको ताप्लेजुङ प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए ।

विरेन्द्र चौक बाहेकका अन्य क्षेत्रका पसल भने खुल्लै रहने छन् । जिल्लामा समुदाय स्तरमा नै संक्रमण फैलिएकाले सबैलाई सतर्क रहन प्रजिअ चापागाईले आग्रह गरे । यस्तै बजार क्षेत्रमा भौतिक दुरी कायम गर्न र मास्क लगाएर मात्र हिँडडुल गर्न प्रहरीले अनुरोध गरेको छ ।