भद्रपुर । झापा गाउँपालिका–६ स्थित सानो चप्रमारीका ७८ वर्षीया बृद्धाको कोरोनासङ्क्रमणका कारण मृत्यु भएको छ । यो सँगै झापा जिल्लामा मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ ।

दम तथा अन्य दीर्घ रोगबाट ग्रसित ती बृद्धा महिलालाई ज्वरो आएपछि असोज ६ गते पीसीआर जाँचका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर पठाएकोमा रिपोर्ट पोजेटिभ आएको जिल्लाका प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिएको छ ।

उनी होम आइसोलेसनमा बसेको र उनको बुधबार राती घरमै मृत्यु भएको जनाइएको छ । उनको शवलाई नेपाली सेनाले दाहसंस्कारका लागि लगिसकेको जनाइएको छ ।

मृत्यु भएसँगै गाउँपालिकाको ६ नम्बर वडा शील गरिएको छ । वडा कार्यालयले बिहीबार सर्वपक्षीय भेला गरी साँझ ५ बजे देखि असोज ११ गते मध्य रातसम्म वडा शील गर्ने निर्णय गरेको हो ।

वडाका वडा अध्यक्ष हरिबहादुर बानियाँको अध्यक्षतामा बसेको भेलाले पश्चिममा सानो माई वारी, पूर्वमा बिरिङ खोला वारी, उत्तरमा कनकाई नगरपालिकाको सिमाना र दक्षिणमा फूलगाछी सम्मको क्षेत्र शील गरिएको नेपाल कम्युनिस्ट पार्टी झापा गाउँपालिकाका अध्यक्ष रुद्र बजगाईँले जानकारी दिए ।