वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकास्थित आदर्श माविका शिक्षक उदय ठटालले एसएलसी सक्ने बित्तिकै शिक्षण पेशा अपनाए । विद्यालयमा बालबालिकालाई सिकाउँदा आनन्द आउने भएकाले शिक्षण पेशालाई अपनाएको उनले बताए ।

वराक्षेत्रको जेठो सामुदायिक आदर्श माविका शिक्षक उदय ठटाल जस्तै पछिल्लो समयमा स्थानीय युवाहरूमा शिक्षण पेशाप्रति आकर्षण बढ्न थालेको छ । समाजमा शिक्षाको ज्योति छर्ने उद्देश्यले उक्त पेशाप्रति उनीहरूको लगाव र आकर्षण बढेको हो । ठटालले भने, ‘शिक्षण पेशा एउटा मर्यादित, सम्मानित तथा इमान्दार पेशा हो । शिक्षाबाटै समाजमा आमुल परिवर्तन ल्याउन सकिन्छ ।’ उनले गाउँका केटाकेटी, धनीगरिब, सानो ठूलो, जान्ने नजान्ने कत्ती पनि भेदभाव नगरी सबैलाई शिक्षित बनाउने पेशा नै शिक्षण भएको बताए । शिक्षाको माध्यमबाट व्यक्तिगत उन्नति र विकाससँगै गाउँ समाज हुँदै राष्टूलाई विकसित र समृद्ध बनाउने सबैभन्दा ठूलो तथा महत्वपूर्ण माध्यम भएकाले उक्त पेशामा आवद्ध भएको ठटालले बताए ।

उनीजस्तै बराहक्षेत्रका नगरपालिका-२ को हिमालयन इङ्गलिस स्कुलका प्रधानध्यापक आलोक श्रेष्ठ, भोजपुरको टेम्के मैयुङ्ग-२ को त्रिभुवन धर्मोदय माविका शिक्षक सुमन विकल, वार्ड नम्बर ८ स्थित कोशी माविकी शिक्षिका विष्णुमाया थापा, हिमालयन स्कुलकी प्री प्राइमरी शिक्षिका मनिषा तामाङ्गको दैनिकी विहान १० बजेदेखि साँझ ५ बजे विद्यालयमै बित्छ । उनीहरूलाई विद्यार्थी पढाउन कत्ति पनि दिक्दार लाग्दैन । विद्यालयमा ब्ल्याकबोर्ड, चक, डस्टर, विद्यार्थीसँग दिनभर व्यस्त रहँदा पनि घर फर्किदा मनमा अलग्गै किसिमको खुसी हुने गरेको उनीहरू बताउँछन् ।

भोजपुरका शिक्षक सुमन बिकलले भने, ‘सानैदेखि शिक्षक बन्ने मन थियो । पेशामा आउन घरका हजुरबुबा तथा परिवारले प्रोत्साहन र सहयोग गरेकाले यो पेशामा अपनाउन सहज भयो ।’ वराहक्षेत्रको सबैभन्दा ठूलो निजि विद्यालयका हिमालयनका प्रधान अध्यापक आलोक श्रेष्ठ ३० शिक्षक शिक्षिका, आठसय विद्यार्थी हांकिरहेका छन् । सानो काठको भवनमा चक डस्टरवाट शुरु गरेपनि अहिले व्हाइट बोर्ड मल्टिमिडियामा बदलिएको छ ।

प्रअ श्रेष्ठले भने, ‘कम्प्युटर कोठा, किताबको लाईब्रेरी र साइन्स ल्याब भवनको लागि आवश्यक भवन तयार भएको छ । सबैमा सहज इन्टरनेट पुगे अहिले अनुकुल अनलाइन टिचिङ्ग गराउने योजनामा रहेका छौं ।’ ३६ वर्षका उदय, ३० वर्षीय सुमन दुवैको मुख्य विषय समाजिक हो । तर सुमन गणित तथा उदय कम्पयुटर पनि पढाउँछन् । बिकल दरबन्दीमा र टठाल करारका शिक्षक हुन् । तर उनीहरुको पहिलो रोजार्इृ भनेको सामुदायिक विद्यालय रहेको छ । उता महिला शिक्षिका विष्णुमाया सरकारी तथा मनिषा निजि स्कुलमा पढाउँछन् ।

बराहक्षेत्रको आदर्श स्कुलमा मात्रै १५ जना त युवाहरु शिक्षक छन् । आलोक जस्तै स्थानिय आइरिस, बराह राइजिङ्गका प्रिन्सीपल बालकृष्ण र विजय राई पनि युवा नै हुन् । यी सबका बावजुद सबैजनाले मनमा उत्साह र केही नयां गर्ने सोचले शिक्षण पेशामा लागेका छन् । प्रअ आलोकले भने, ‘वराहक्षेत्रको शिक्षा क्षेत्रमा पछिल्लो केही वर्ष यता युवाको आर्कषण बढेको छ । नयां सोच, नयां जोश जागर, उत्साह अनि उर्जाले भरिएको युवाहरु शिक्षण पेशामा आउनु नै सकारात्मक पक्ष हो ।’

शिक्षण पेशामा युवा आउनु धेरै खुशीको विषय भएको आदर्श माविको प्रधान अध्यापक प्रहलाद पहरेदार भट्टराईले बताए । उनले भने, ‘राष्टूलाई चाहिने बहुविधा, विषयका विज्ञ, दक्ष जनशक्ति, ईमन्दार, कर्तवयनिष्ट, राजसेवक र राजनेताको उत्पादन गर्ने महत्वपूर्ण कारखाना विद्यालय नै हो जहां शिक्षा दान गरिन्छ ।’

pp1 pp3 pp4 pp2