विजयपुर । भाद्र २२ गते आफ्नै कोठामा मृत फेला परेकी धरान ११ की सुनिहाङ्गमा लिम्बूका सिङ्गपुर पुलिसमा कार्यरत पति युबी भनिने आईत माबोलाई अनुसन्धानको दायरामा ल्याउन माइती पक्षले माग गरेको छ ।

आइतबार पत्रकार महासङ्घ सुनसरीको सभाहलमा पत्रकार सम्मेलन गर्दै माईती पक्षले न्यायका लागि अभियान समिति समेत गठन गरेको जनाएको छ ।

मृतक सुनिहाङ्माका काका अरुण तिगेलाले मृत्यू प्रकरणमा किटानी जाहेरीमा नाम उल्लेख भएका ५ जना मध्ये पति आईत माबोलाई अनुसन्धानको दायरा नल्याउनुले मृत्यु प्रकरणमा अनेक चलखेल भएकोे आशङ्का लागेको बताए । उनले मृतकको अवस्था र केटा पक्षको परिवारले दिएको अभिव्यक्तिले नै आत्महत्या नभई हत्या भएको दावी गरे । सुनिहाङ्गमाको मृत्यूको कुरामा घरपरिवारले भनेजस्तो स्थलगत अनुगमनमा केहि नपाइएको बताए । उनले भने,‘ यस्ता बनावटी कुराले हामीलाई थप शङ्का उत्पन्न गराएको छ ।’

उनले ज्यान सम्बन्धी कसूर मुद्दामा हिरासतमा रहेका ४ जना अभियुक्त मध्ये एक जनालाई कोरोना संक्रमणको बहानामा आफुहरुलाई जानकारी नदिई छाडिएको, पोष्टमार्टम रिपोर्ट सार्वजनिक गर्न ढिलाई गरेको भन्दै प्रहरी प्रशासन माथि नै थप शङ्का उपशङ्का उत्पन्न भएको बताए ।

छथर गाउँपालिकाका अध्यक्ष सन्तोष तिगेलाले धेरै नेपाली चेलीहरुले न्याय नपाउनुमा विभिन्न खाले चलखेल र कानुनी बाधा अड्चन मुख्य कारक रहेको यो घट्नाले प्रष्ट पारेको बताए । उनले थपे, ‘कानुनमा भएको कुरालाई कार्यान्वयनमा ल्याउन सडकमै आउनु पर्ने वातावरण बन्नु दुखद् हो ।’

मृतक लिम्बूको न्यायको लागी भन्दै छथरे समाज धरानका अध्यक्ष मोहनप्रसाद तिगेलाको संयोजकत्वमा ५ सय १ सदस्यीय समिति पनि गठन भएको छ ।

समितिमा १२ जना सहसंयोजक रहेका छन । समितिका संयोजक मोहनप्रसाद तिगेलाले रातको १२ बजे घट्नास्थलमा पुगि घट्ना प्रकृति र सम्धिसँगको कुराकानीको आधारमा आत्महत्या नभई हत्या भएको दावी गरे । उनले मृतकको श्रीमान र आफन्तहरुले विभिन्न संचारमाध्यम र समाजिक सञ्जालमा दिएको अभिव्यक्ति र अनुसन्धान प्रक्रिया ढिलाई हुनुले घटना थप रहस्यमय बन्दै गएको वताए । समितिले सुनिहाङ्गमाको न्यायको लागि आवश्यक पहल र संघर्षका कार्यहरु गर्दै जाने बताएको छ ।