भद्रपुर । झापाको भद्रपुरका एक स्थानीय महिलामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

भद्रपुर नगरपालिका ५ देवीवस्ती बस्ने ६७ वर्षीया वृद्धा महिलामा कोरोना पुष्टि भएको भद्रपुर नगरपालिका स्वास्थ्य शाखाका फोकल पर्सन मनोज भट्टराईले जानकारी दिए । घाटीमा मासु पलाएको भन्दै ती वृद्धा महिला ओम साई पाथीभरा हस्पिटलमा जाँचका लागि गएकी थिइन् ।

चिकित्सकले शल्यक्रिया गर्नु पर्छ त्यसका लागि कोरोनाको पीसीआर परीक्षणको रिपोर्ट लिएर आउनु भने । सोही बमोजिम असोज २ गते ती वृद्धा महिला पीसीआर परीक्षण गर्न मेची अस्पताल भद्रपुर पुगेकी थिइन् । त्यहाँ दिएको स्वाब पश्चात् आइतबार उनको रिपोर्ट पोजेटिभ देखिएको फोकल पर्सन भट्टराईले जानकारी दिए । ती महिलालाई कोरोना सङ्क्रमण देखिएपछि अहिले स्वास्थ्य शाखाको टोलीले उनका परिवारसहित छरछिमेकका १८ जनाको स्वाब सङ्लनको काम भइरहेको ५ नम्बर वडा अध्यक्ष बन्धु कार्कीले बताए । स्वाब सङ्कलन गरिएको व्यक्तिलाई घरमै बस्न आग्रह गरिने वडा अध्यक्ष कार्कीले बताए ।