भद्रपुर । संविधान दिवसको अवसरमा झापा कारागारबाट १३ जनाले माफि मिनाहा पाएका छन् । कारागारमा कैद भूत्तान गरिहेका कैदीबन्दीमध्ये १३ जनाले असोज ३ गते माफि मिनाहा पाएको झापा कारागारले जनाएको छ ।

माफि मिनाह पाउनेमा शान्तिराम भट्टराई, रामु भन्ने राम दर्जी, अनिल कटवाल, राजु शेर्मा लिम्बू, लोदे सोरेन, अनिष प्रसाई, द्रोर्णाचार्य सङ्ग्रौला, इन्द्र राजवंशी, रोशन खड्का, टेकनाथ चौधरी, कृष्ण हमतो, राजकुमार ऋषिदेव र हरिभक्त सङ्ग्रौला रहेको कारागार प्रशासनले जनाएको छ ।

कानूनले सिफारिस गर्न नमिल्ने भनी तोकिएको मुद्दा वाहेक असल चालचलन भइ तोकिएको कैदमा असोज २ गतेसम्म ५० प्रतिशत कैद भूत्तान गरेका बन्दीले माफि मिनाहा पाएको कारागारका जेलर राजेन्द्र गौतमले बताए ।

नेपाल सरकार मन्त्री परिषदको निर्णयले राष्ट्रपतिबाट बाँकी कैद मिनाह भूत्तानीको नाम प्राप्त भएको गौतमले बताए । झापा कारागारबाट १९ जनाको सिफारिस पठाएकोमा १३ जनाको स्वीकृत भएर आएको उनले जनाए ।

संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन)ऐन,२०७४को दफा ३७,फौजदारी कसूर(कैद कट्टा)नियमावली,२०७६ बमोजिम संलग्न विवरण अनुसारका कैदीहलाइ बाँकी कैद छोट्याइ माफि मिनाहा दिने निर्णय भएको थियो ।

हाल कारागारमा एकहजार ७३ पुरुष र ५ आश्रित(बालबालिका)सहित ८१ जना महिला रहेका छन् ।