विजयपुर । कोरोना भाइरस संक्रमितको सम्पर्कमा रहेका परिवारका सदस्य जथाभावी बाहिर हिड्न थालेपछि धरान–११का स्थानीय त्रसित भएका छन ।
धरान–११ प्रगती चोकका एक जनालाई बुधबार संक्रमण पुष्टि भएको थियो । संक्रमितका ६ जना नै सदस्य सुरक्षित भएर बस्नुपर्नेमा बाहिर हिड्डुल गरेको पाइएको छ । एक जना विश्वकर्मा मन्दिरमा गएर पुजा समेत गरेर आएको एक स्थानीयले दाबी गरेका छन । अन्य सदस्यहरु भने आफ्नो दैनिकीमा लागि रहेका छन ।
एक जनालाई कोरोना पुष्टि भएपछि वडा सदस्य संगीता लोहनीले सम्पर्कमा हुनेको पिसिआर चेक गरिने र कतै नहिड्नु भन्दा पनि उनीहरु अटेर गरेको स्थानीयको भनाई छ । उनीहरुको व्यवहारले अन्यमा पनि संक्रमण बढ्ने भन्दै युवाहरुले उप–महानगर र प्रहरी प्रशासनलाई भन्दा पनि चासो नदेखाएको मकालु युवा क्लवका अध्यक्ष भोलानाथ विश्वकर्माले वताए । उनले भने, ‘सबै ठाउँमा भन्यौ कसैले चासो राख्नु भएन । संक्रमितको सम्पर्कमा रहेका व्यक्तिहरु बाहिर निस्कदा धेरैलाई समस्या हुन्छ ।’