यासोक (पाँचथर) । पाँचथरको कुम्मायक गाउँपालिका केन्द्रमा रहेको ऐतिहासिक कुम्मायक कुसायक धार्मिक स्थालमा भ्यु टावर सहितको संरचना माग गरिएको छ ।

पर्यटन तथा नागरिक उड्यान मन्त्रालयको सार्वजनिक सुचनालाई आधार मान्दै गाउँपालिकाले पर्यटन पुर्वाधार तथा पर्यटन उपज बिकाश साझेदारी कार्यक्रममा पेस गरिने प्रस्थावनामा कुम्मायक कुसायक क्षेत्रको पूर्वाधार निर्माणलाई गाउँपालिकाले पहिलो प्राथमिकता दिएको छ ।

मन्त्रालयले स्थानीयतहमा पर्यटकीय सम्भावना बोकेका धार्मिक स्थल र पर्यटकीय क्षेत्रको सम्भावनाको बिषयमा सिफारिस गर्न पत्र पठाएको थियो । सोही अनुसार गाउँपालिकाले कुम्मायक कुसायक धार्मिक स्थलमा बिभिन्न संरचना निर्माण गर्नुपर्ने माग सहित मन्त्रालयमा सुझाव संकलन गरी पेस गरेको छ । गाउँपालिकाको धार्मिक स्थल मापदण्डमा पुगे कुम्मायक—कुसायक धार्मिक स्थलले ५ करोड रकम पाउँने छ । गाउँपालिकाको समृद्धि र विकासको लागि भन्दै भ्यु टावर, पार्क, पर्यटकीय बसपार्क र प्रतिमा निर्माण त्यस्तै पर्यटकलाई आवश्यक पर्ने सौचालय, सडक, ढल र पेटी निर्माण लगायतका संरचना समावेस गरी मन्त्रालयमा सिफारिस गरेको छ ।

पर्यटकीय क्षेत्रको संरचना निर्माण गर्दा गुरु योजना तयार गरि काम गर्ने गरी गाउँपालिका अघि बढ्ने प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भटराइले बताए। गाउँपालिकाले यो बिषयमा बिज्ञको सुझावलाई आधार मान्दै दीर्घकालीन सोच र लक्ष्यका साथ अघि बढ्ने जनाएको छ ।