दमक । झापाको दमकमा रतुवा र मावा खोला नियन्त्रण गर्न अहिलेसम्म कुनै गुरु योजना नै बनेको छैन ।

हरेक वर्ष साना मसिना स्पर निर्माण गर्दै नदि नियन्त्रण गर्ने गरिएपनि ती स्पर अर्को वर्षको भेलले बगाई दिएपछि नदि आसपासका क्षेत्रका नागरिकमा थप जोखिम बढ्न थालेको छ ।

यहाँ वर्षा सुरु हुनु अघि नै चिन्ता सुरु हुन्छ । मावा र रतुवाले यो वर्ष कहाँ – कहाँ कति क्षती पुर्याउछ भनेर । यो चिन्ता वर्षातको समयभर कायम नै रहन्छ । त्यस अवधिमा नदि नियन्त्रणका तत्कालीन उपाय रचिन्छ र हतार हतार काम गराइन्छ ।

नगरले १ करोड रुपैँयाको विपत् व्यवस्थापन कोष बनाएको छ । त्यहि कोषबाट केहि लाख रुपैयाँमा केहि दर्जन जति स्पर बनाइन्छ । नदिको छेउका किनारमा बाँस रोपीन्छ । केहि थान बृक्षारोपण गरिन्छ । तारजाली र बोरामा बालुवा खाँदेर खोला थुनेजस्तो गरिन्छ । तर अलिक ठुलो भेल आएपछि ती सबै काम एकै पटक स्वाहा हुन्छ्न । त्यसपछिको भेल सोझै गाउँ बस्ती र खेतीयोग्य जमिनमा पस्छ ।

यस्तो अवस्था हुँदा पनि यहाँ स्थायी तटबन्ध निर्माणका लागि कुनै योजना बनाइएकै छैन । अहिलेसम्म डिपीआर अर्थात बिस्तृत अध्ययन परियोजना प्रतिवेदन नबनाइएको र विभिन्न निकायसँग मौखिक मात्र कुरा गरिरहेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद तिम्सिना बताउँछन् । नदि नियन्त्रण दमक नगरपालिका मार्फत नै गर्ने वा केन्द्र सरकारले गरिदिने भन्ने कुराको यकिन नभएका कारण पनि नगरपालिकाले नबनाइ हालेको उनले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र र हरेक पटकको निर्वाचनमा उनले रतुवा र मावामा स्थायी तटबन्ध निर्माण गर्ने भनेर भाषण पनि गर्ने भएकोले प्रधानमन्त्रीबाटै केहि हुन्छ कि भनेर आशा गरेर बसेको यहाँका जनप्रतिनिधीहरुको भनाई छ । तर अहिलेसम्म काम ज्यादै न्यून मात्र भएको छ । यहाँ जनताको तटबन्ध, शहरी विकास, उपभोक्ता , राष्ट्रपति चुरे संरक्षण, नगरपालिका लगायतको साझेदारीमा खण्ड खण्ड गरेर करिव १० किलोटिमर तटबन्ध निर्माण भईसकेको छ । रतुवा र मावा नदिमा गरेर करिव ३० किलोमिटर नदि तटबन्ध गर्नु पर्छ । अहिले जनताको तटबन्धले मावा नदिमा केहि काम गरिरहेको छ । रतुवामा भने राष्ट्रपति चुरे संरक्षण क्षेत्र लगायत अन्य केहि आयोजनाहरुले काम गरिरहेका छन् । तर दमकमा कती र कस्तो प्रकारको नदि नियन्त्रण गर्ने भन्ने बारेको बिस्तृत परियोजना नभएका कारण काम गर्न पनि असहज भएको इन्जिनीयर अनन्त सेनेहाङ बताउँछन् ।

दमकको रतुवा खोलामा अहिले दमक नगरपालिकाकै लगानीमा स्पर निर्माणको काम भईरहेको छ । यसले क्षणिक मात्र नदि रोक्ने स्थानीय जनप्रतिनिधीहरु बताउँछन् । दमक नगरपालिका वडा २ का वडाअध्यक्ष प्रजापति सापकोटाका अनुसार रतुवा नदिका कारण वर्षेनी कटान बढेपछि तत्काल केहि रोकथाम गर्न सकिन्छ कि भनेर १२ वटा स्पर बनाइएको छ । यसका लागि करिव ९ लाख रुपैँया खर्च भै सकेको उनको भनाई छ ।

नगर प्रमुख रोमनाथ ओली जैविक विधीबाट नदि तटबन्ध गर्ने योजना रहेको बताउछन् । नदिको किनारमा अधिकतम् बृक्षारोपण गरेर नदि नियन्त्रण हुने उनको विस्वास छ । यसका लागि विभिन्न परियोजना सञ्चालन गर्ने निकायसँग छलफल गरिरहेको उनले बताए । तर यसका लागि डीपिआर महत्वपूर्ण भएकाले तत्कालै यसको निर्माण गर्ने सोच बनाएको नगर प्रमुख ओलीको भनाई छ ।

दमक नगरपालिकाले हरेक वर्ष रतुवा र मावा नदि नियन्त्रणका लागि वार्षिक रुपमा २ देखी अढाई करोड रुपैयाँ खर्च गर्दै आएको छ । करिव १ करोड आफ्नै श्रोतबाट र बाँकी खर्च प्रदेश र सङ्घ मार्फत ल्याएर खर्च गर्दै आएको छ । अब देखि दमकमा मावा र रतुवा उत्खनन्बाट आएको सम्पूर्ण आम्दानी यी नै नदि नियन्त्रणमा खर्च गर्ने समेत नगरपालिकाको बोर्ड बैठकबाट पारित भै सकेको जनाइएको छ ।