इनरुवा । सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले जिल्लामा कोभिड–१९ को अवस्था नियन्त्रण भित्रै रहेको बताएका छन् ।
संक्रमित थपिएपनि निको हुनेको संख्या समेत बढ्दै गएकाले कोरोना भाइरसको अवस्था जिल्लामा भयावह भने नरहेको पोखरेलको भनाई छ ।
प्रजिअ पोखरेलले दिएको जानकारी अनुसार सुनसरीमा अहिले सम्म २४ हजार जनाको स्वाब संकलन गरी परीक्षण गरिएको छ । जसमध्ये १ हजार ३२ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
संक्रमित मध्ये ६ सय ९ जना विभिन्न आइसोलेसनमा रहँदा ४ सय १७ जना निको भएका छन् । सुनसरीमा ६ जनाको मृत्यु भएको प्रशासनले जनाएको छ ।
प्रशासनले एउटै वडामा एकसाथ ठुलो संख्यामा संक्रमित देखिएकाले तत्कालको लागि इनरुवाको वडा नम्बर ५ सिल गर्नु परेको जनाएको छ । प्रजिअ पोखरेलका अनुसार सुनसरीको भोक्राहामा एक सय वेडको क्वारेन्टिन जिल्ला प्रशासन कार्यालय मातहत संचालनमा रहेको छ ।
त्यसैगरी प्रदेश सरकारको सहयोगमा रामानन्द सेवा पिठ चतरामा एक सय वेड, अस्थायी कोभिड अस्पताल धरानमा १ सय ५० वेडको आइसोलेसन, नयाँ बसपार्क इनरुवामा प्रहरीका लागि २५ वेडको आइसोलेसन संचालनमा रहेको सुनसरी प्रशासनले जनाएको छ ।
त्यसैगरी प्रशासनले दिएको जानकारी अनुसार हरियाली पार्क धरानमा ५० वेड, राष्ट्रिय वाणिज्य बैंक दुहवी गोदाममा २ सय वेड, इटहरी रंगशालामा २ सय वेड, कृषि तालिम केन्द रामधुनी ५० वेड, गढदेव सामूदायिक भवन गढी ५० वेड र भगवती मावि इनरुवाको ५० बेड तयार पारिएको छ । इनरुवा र इटहरीको आइसोलेसन संचालनको अन्तिम तयारीमा रहेको प्रशासनले जनाएको छ ।