इनरुवा । इनरुवाको वडा नम्बर ५ बलाहा क्षेत्रका ६१ जनामा कोरोना देखिएपछि वडा सिल गरिएको छ ।

सुनसरी जिल्ला प्रशासनले सोमबारबाट सो क्षेत्र पूर्ण रुपमा सिल गरेको हो । प्रशासनले अर्को निर्णय नभए सम्मको लागि सो क्षेत्र सिल गरिएको जनाएको छ ।

प्र्रशासनले अपरान्हबाट वडा सिल गरिएको जानकारी दिएपनि सुरक्षाकर्मीले विहानैबाट आवतजावत रोकेका थिए । प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले कोरोना फैलन नदिन तत्कालकालागि उक्त क्षेत्र सिल गरिएको बताए । उनले परिस्थिति हेरेर थप निर्णय लिइने बताए ।

सिल गरिएसँगै दुहवी–इनरुवा सडक खण्डको बलाहा क्षेत्रमा आवतजावत ठप्प भएको छ । इनरुवा–दुहवी जोड्ने मुख्य मार्ग आसपासको वस्ती संक्रमित रहेको वडा क्षेत्रमा परेका कारण समेत उक्त क्षेत्र समेटेर प्रशासनको निर्णय बमोजिम सिल गरिएको वडा अध्यक्ष अञ्जनीकुमार पोखरेलले जानकारी दिए ।

उता नगरपालिकाको कार्यालयले एक साताको लागि इनरुवा ५ को सम्पूर्ण क्षेत्रमा पूर्ण लकडाउन गरिएको सूचना प्रकाशित गर्दै सर्वसाधारणलाई अत्यावश्यक अवस्थामा बाहेक हिंडडुल नगर्न भनेको छ । नगर प्रमुख राजन मेहताले एकसाथ ठुलो संख्यामा संक्रमित भेटिएकाले वडालाई सिल गरिएको बताए । उनले कन्ट्याक्ट ट्रेसिङलाई थप तिव्रता दिइने बताए ।

इनरुवाको बलाहामा अघिल्लो दिन एकसाथ ४० नयाँ कोरोना संक्रमित थपिएका थिए । जसमध्ये अधिकांश एउटै वडाका थिए । उक्त संख्यासँगै इनरुवा ५मा कोरोना संक्रमितको संख्या ६१ पुगेको छ । जसमा बालक देखि वृद्ध सम्म रहेका छन् ।
इनरुवा नगरपालिकाका स्वास्थ्य अधिकृत सन्तोष देवका अनुसार इनरुवामा कोरोना संक्रमितको संख्या १ सय १६ पुगेको छ । बलाहाको एउटै टोलमा ठूलो संख्यामा संक्रमित देखिएपछि स्रोत पहिचानमा जुटेको देवले बताए ।