मधुमल्ला । मोरङको मिक्लाजुङ गाउँपालिकामा भाद्र ३१ गते सम्म लकडाउन थपिएको छ ।

गाउँपालिका क्षेत्र भित्र कोरोना सङ्क्रमण समुदायस्तरमा फैलन सक्ने सम्भाव्य जोखिम न्यूनीकरणका लागि गाउँपालिका क्षेत्रभित्र लागु हने गरी भाद्र ३१ गते बुधवार राती १२ बजेसम्मका लागि लकडाउन लम्ब्याइएको छ ।

सोमबारको बैठकले गाउँपालिका तथा सो अन्तर्गतका कार्यालयहरु र बैंक तथा वित्तिय संस्थाका कार्यालयहरु स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्ण पालना हुने गरी नियमित रुपमा सञ्चालन हुने, पसल, व्यापार व्यवसाय तथा उद्योगहरु स्वास्थ्य सुरक्षाका पूर्वाधारहरु पुरा गरी हरेक दिन विहान ६बजे देखि दिउसो २ बजेसम्म मात्र सञ्चालन गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले शैक्षिक संस्थाहरुले स्वास्थ्य सुरक्षा सावधानी अपनाई बैकल्पिक सिकाइ सहजीकरण तथा बैकल्पिक माध्यमको प्रयोगगरी विद्यार्थी तथा अभिभावक परामर्शको कार्यलाई निरन्तरता दिने, निर्माण कार्यका लागि आवश्यक सामग्री ढुवानीमा प्रयोग हुने ढुवानीका साधानहरु विहान ६ बजेदेखि साँझ ६ बजेसम्म मात्र सञ्चालन गर्ने, होटल रेष्टुरेण्टहरुले होम डेलिभरी वा ग्राहक स्वयम् आएर प्याक्छि गरी लैजाने (टेक अवे ) सेवा मात्र सञ्चालन गर्ने, साप्ताहिक हाट बजार, होटल, शैलुन, पार्लर, पार्टीप्यालेस, सभा सम्मेलन, गोष्ठी, बैठक जस्ता धेरै मानिस भेला हुने र संक्रमण जोखिम बढी हुने क्षेत्रहरु पूर्ण रुपमा बन्द रहने निर्णय गरेको छ ।

यस असहज परिस्थितिमा आफु र आफ्नो परिवार तथा समाजलाई महामारीबाट बचाउन सबैको पूर्ण प्रतिवद्धता र सहयोग गाउँपालिकाले आग्रह गरेको छ ।