धरान / लामो सयमदेखि उद्घाटन भएर पनि संचालनमा नआएको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पताल सचालनमा आएको छ ।
कोभिड १९ का बिरामीको सङ्ख्या दिनानु दिन वृद्धि भइरहेको अवस्थामा कोभिड १९ अस्पतालमा समेत कोरोना संक्रमित बिरामी राख्न थालिएको बुधबार प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले एक विज्ञप्ति जारी गरि जानकारी दिएका छन् ।
कोरोना संक्रमित बिरामीमा लक्षण देखिएकाहरूलाई कोभिड -१९ अस्पतालमा भर्ना गर्न थालिएको उनले बताए । दुई वटा भेनिटलेटरसहित एकसय जना क्षमताको प्रतिष्ठानको आइसोलेसन वार्ड रहेको थियो । कोभिड १९ अस्पताल सञ्चालनसँगै थप १० भेटिलेटरसहितको एकसहय बेड थपिएको छ ।
बैशाख ११ गते देखि सञ्चालन गर्ने भनिएको कोभिड १९ अस्पतालको उद्घाटन गरेर सञ्चालनमा आएको थिएन । १० वटा भेन्टिलेटर सहितको सो अस्पतालमा आइसियु सरहको एचडीयु युनिट पनि रहेको छ । यसले गर्दा कोरोना सङ्क्रमितहरूको उपचारमा थप सहज हुने र राम्रो स्वास्थ्य सेवा पाउने प्रवक्ता सापकोटाले बताए ।
प्रतिष्ठानको कोभिड अस्पताल सञ्चालनमा आएसँगै अव १२ वटा भेन्टिलेटर, २० वटा एचडीयु युनिट सहित २ सय जना बिरामीलाई सेवा प्रवाह गर्न सक्ने प्रतिष्ठानले जनाएको छ ।
कोभिड अस्पताल लामो सयमदेखि सञ्चालन नगरेको लगायतका माग राखेर नेपाली कांग्रेस निकट भातृसंगठनहरुले अान्दाेलन समेत गदैं आएका थिए ।