पथरी/ मोरङको पथरीशनिश्चरे नगरपालिका–२ स्थित हरियाली समुदायिक वनको पर्यटकीय क्षेत्र विकास कम्पनीमा एक करोड शेयर रकम जम्मा भएको छ ।

वन उपभोक्ता समितिले पर्यटकीय क्षेत्र विकास गर्न कम्पनी दर्ता गरेर शेयर खरिदको लागि सूचना गरेपछि सो बराबरको रकम जम्मा भएको हो । कम्पनीले हरेक शेयरधनीलाई पहिलो किस्तास्वरूप प्रतिबद्धताको २० प्रतिशत रकममात्र माग गरेको थियो ।

जसमध्ये वनका उपभोक्ता, नगरका मतदाता, पथरीशनिश्चरे नगरपालिका, उद्योग वाणिज्य सङ्घ, निजी कम्पनी, जनप्रतिनिधि, उद्योगी व्यवसायी, पत्रकार गरी ८ सय ५ जनाबाट ९६ लाख ११ हजार नगद जम्मा भएको कम्पनीका अध्यक्ष देवीप्रसाद भेटवालले जानकारी दिए । पथरीशनिश्चरे नगरपालिकाले कुल लगानीको १० प्रतिशत अर्थात् दुई करोड लगाउने लिखित प्रतिबद्धता दिएको छ । हरियाली सामुदायिक वन आफैले ३५ प्रतिशत बराबर हुन आउने ७ लाख शेयर लगाउँदै छ ।

पथरीशनिश्चरे नगर प्रमुख दिलिपकुमार राई, ३ नम्बर वडाध्यक्ष डम्बर चेम्जोङ, विभिन्न वडाका सदस्यहरू काशीहाङ राई, अग्नि गुरुङ, कुमारी सार्की, वन कर्मी तथा नेपाली काङ्ग्रेस मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बू, नेकपा मोरङ जिल्ला सदस्य दिनानाथ तिम्सिनालगायतले संस्थापक शेयर लगाएको कम्पनीले जनाएको छ । त्यसैगरी पथरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष दीपक बस्नेत, नेपाल आदिवासी जनाजाति पत्रकार महासङ्घ (फोनिज) १ नम्बर प्रदेशकासहित नेपाल पत्रकार महासङ्घ मोरङ जिल्लाका पत्रकारले समेत संस्थापक शेयर खरिद गरेका छन् ।

मोरङ लेटाङको बीबी ट्रेड सेण्टरले १० लाख, पथरी उद्योग वाणिज्य सङ्घ, पथरीकै कृष्ण इम्पोरियम, साल्पा होटेल, प्रशान्त फेन्सी स्टोर, नमस्ते बुद्ध इन्भेस्टमेण्ट र वन उद्यम पूर्वाधार बैङ्क काठमाडौंले ५–५ लाखको दरले शेयर खरिद गरेका छन् । झापा दमकको खजुम साना निर्माण सेवा, पथरीकै सगुन होटल, ए वान स–मिल, सुम्हात्लुङ कृषि फर्माले २–२ लाखको दरले शेयर खरिद गरेका छन् । अहिले कम्पनीको नियमअनुसार प्रतिबद्धको २० प्रतिशत रकम जम्मा भएको हो ।

शेयर खुलेको २० करोडमा नगरपालिकाले १० र बाँकी रहेको ९० प्रतिशतमध्ये हरियाली सामुदायिक वन उपभोक्ता समितिले ३५, हरियालीको उपभोक्तालाई २५, नगरपालिकाभित्रका मतदाता परिचय–पत्रको आधारमा २० र उद्यम तथा पर्यटनसम्बन्धी काम गर्दै आएका निजी क्षेत्रका कम्पनी तथा व्यक्तिहरूका लागि १० प्रतिशत शेयर वितरण गर्ने निर्णय भएको थियो ।

कम्पनीले समुदायिक वनभित्र वन विकास र जङ्गली जनावरलाई असर नपर्ने गरी पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न २० करोड रुपैयाँ लगानी गर्ने योजना बनाएर शेयर आह्वान गरेको हो । शेयर सङ्कलनसँगै हरियालीभित्र झर्ना, गार्डेन, विभिन्न रङ्गीन माछासहितको एक्युरियम, नेपालको आकारमा बोटिङसहितको पोखरी निर्माण शुरु भएको हरियाली सामुदायिक वन उपभोक्ता समूहको अध्यक्ष काबुलबहादुर मगरले बताए ।

कम्पनीले वन विकासमा असर नपर्ने गरी स्विमिङ पुल, ट्री–हाउस, बोटिङ, साइक्लिङ, बाल उद्यम निर्माण गर्ने योजना गरेको अध्यक्ष मगरले बताए । कम्पनीले पर्यटकीय क्षेत्रको साथै शेयर सदस्यहरूलाई रोजगारी दिने उद्देश्यले कृषिलगायतको क्षेत्रमा लगानी गर्ने योजना रहेको बताइएको छ । अहिले पहिलो चरणको शेयर खरिदको सूचना बन्द गरिएको केही समयपछि दोस्रो सूचना गर्ने तयारीमा रहेको वनका अध्यक्ष काबुलबहादुर मगरले बताए ।

Jharana-1 Jharana-2 Hariyali-2