धरान / खानेपानी मन्त्रालयले खानेपानी संस्थान धरान शाखालाई धरान खानेपानी बोर्डमा सम्पत्ति तथा दायित्व हस्तान्तरण गर्ने निर्णयअनुसार तत्काल निर्णय कार्यान्वयन गर्न संस्थानको धरान शाखालाई निर्देशन जारी गरेको छ ।

मन्त्रालयकी इञ्जिनियर अञ्जना महर्जनले गत साउन २१ गते पत्र लेख्दै नेपाल सरकारको मन्त्रिपरिषद्को २०७५ असार ३२ गतेको निर्णय तत्काल कार्यान्वयन गराउन भनिएको छ ।
३ वर्षअघिको मन्त्रिपरिषद्को निर्णय स्मरण गराउँदै सोही निर्णयअनुसार धरान खानेपानी व्यवस्थापन बोर्डमा खानेपानी संस्थान धरान शाखाको सम्पत्ति, दायित्व तथा जिम्मेवारी हस्तान्तरण गर्ने निर्णय भएको र सो निर्णय २०७५ साउन ३१ गते राजपत्रमासमेत प्रकाशन भएको समेत संस्थानलाई स्मरण गराइएको छ ।

सम्पत्ति मूल्याङ्कनमा चित्त नबुझेकोले पुनः मूल्याङ्कनसमेत भई मन्त्रालयमा मूल्याङ्कन प्रतिवेदन प्राप्त भएको इञ्जिनियर महर्जनले जानकारी दिएकी छन् । २०७६ पुस ७ गते मन्त्रालयलबाटै पुनः मूल्याङ्कनका लागि समिति बनाएर पठाएको थियो । सो समितिले मन्त्रालयमा प्रतिवेदनसमेत बुझाइसकेको मन्त्रालयले जनाएको छ ।

मन्त्रीस्तरमा साउन २१ गते निर्णय भई पुनः मूल्याङ्कन अनुसार निर्णय कार्यान्वयन गराउन संस्थानलाई निर्देशन जारी गरिएको छ । ‘अत्यन्त जरुरी’ लेखिएको पत्रबारे खानेपानी मन्त्री बीना मगर, मन्त्रालयका सचिव रमाकान्त दवाडीलाई अवगत गराइएको छ भने धरान उपमहानगरपालिका र खानेपानी व्यवस्थापन बोर्डलाई बोधार्थ दिइएको छ । खानेपानी संस्थानले बोर्डमा हस्तान्तरण गर्न ढिलाइ गरेपछि केही दिनअघि धरान उपमहानगरपालिकाका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारीसहितको टोली काठमाडौं गएको थियो । सबै प्रक्रिया पूरा भएकोे हुँदा संस्थानले यथाशीघ्र सम्पत्ति तथा दायित्व हस्तान्तरण गरी निकास दिनुपर्ने उपमेयर मञ्जु भण्डारीले बताइन् ।

संस्थानले मन्त्रालयको पत्र चाहिने भन्दै बखेडा झिकेपछि नगरपालिकाको टोली मन्त्रालय पुगेको थियो । ‘धराने जनताका लागि १९ दिन धर्ना बसेर मन्त्रालयको पत्र ल्याउन सफल भएकी छु’ उपमेयर भण्डारीले भनिन्, ‘संस्थानमा मन्त्रालयको पत्र पुगेको छ । अब चाँडै संस्थान बोर्डमा हस्तान्तरण हुनेछ । त्यसपछि धरानको खानेपानी समस्या समाधान हुनेछ ।’