• दिनेश सुब्बा

पथरी / किरात राई यायोक्खाले आफ्नो ३३ औं स्थापना दिवस अन्र्तक्रिया गरेर मनाएको छ । उसले १ नम्बर प्रदेशको नाम किरात राख्न समेत सरकारसँग आग्रह गरेको छ ।

बिहिबार यायोक्खाले ३३ औं स्थापना दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा किरात प्रदेश नाम राख्न सरकारलाई पुनः माग गरेको हो । यायोक्खाको किरात प्रदेश अभियान केन्द्रीय उपसमितिले मोरङको बेलबारीमा आयोजनागरेको कार्यक्रममा प्रदेशको नाम तत्काल किरात राख्न बक्ताहरुलेमाग गरेका थिए । प्रदेशको नाम राख्न ढिलो नगर्न प्रदेश सरकारलाई अनुरोध गर्दै साझा पहिचानको आधारमा किरात नाम राख्न यायोक्खाले अभियानकै रुपमा दिवस मनाएको हो ।

बेलबारी साकेलाथानमा आयोजित कार्यक्रममा यायोक्खा केन्द्रीय उपाध्यक्ष ’तथा १ नम्बर प्रदेश ईन्चार्ज तिलकप्रसाद राई, प्रचार बिभाग प्रमुख रहेका केन्द्रीय सचिव अर्जुन जम्नेली राई, केन्द्रीय सदस्य नवीन राई, जिल्ला अध्यक्ष नरहाङ राईलगायतले बोलेका थिए ।
कार्यक्रममा आगामी राष्ट्रिय जनगणनामा जातीको महलमा राई, धर्मको महलमा किरात, पूर्खौली भाषा र मातृ भाषाको महलमा आ–आफ्नो भाषा लेखाउन गाउँगाउँबाट अभियान चलाउनु पर्ने बक्ताहरुले बताए । कोदोको तीनपाने रक्सीलाई ब्राण्ड बनाउन सबै स्थानीय तहबाट पहल थाल्नुपर्ने समेत सुझाएका छन् ।

मातृ भाषा अभियानको रुपमा जहाँ जुन भाषिक राईको बाहुल्यता छ त्यहाँ सोही भाषामा आधारभूत तहको बिद्यालयमा पठन पाठनको पहल गर्नुपर्ने केन्द्रीय सचिव अर्जुन जम्नेली राईले बताए । यायोक्खा पथरीशनिश्चरे नगर समितिको अध्यक्ष प्रेम राईको अध्यक्षमा नगर प्रमुख दिलिपकुमार राईको प्रमुख आतिथ्यमा अन्तरकृया कार्यक्रम भएको थियो । यायोक्खा केन्द्रीय अध्यक्ष दिवस राईको सभापतित्वमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको कार्यकारी उपाध्यक्ष गोकुल घर्तीमगरको प्रमुख आतिथ्यमा भएको कार्यक्रमा भर्खरै विशिष्ट श्रेणी सचिवमा बढुवा भएका सागर राई र वीरबहादुर राईलाई सम्मान गर्दै केन्द्रीय कार्यालय कोटेश्वरमा स्थापना दिवस मनाएको यायोक्खा महासचिव जनक राईले बताए ।

यायोक्खा झापा, इलाम, खोटाङ जिल्लामा पनि किरात प्रदेश अभियानको रुपमा स्थापना दिवस मनाएको केन्द्रीय प्रचार बिभाग प्रमुख अर्जुन जम्नेली राईले बताए ।