भण्टाबारी /  सहमति विपरीत स्वास्थ्य चौकीको भवन बनाउन लागिएको भन्दै सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडानम्बर ८ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ । सबैलाई पायक पर्ने ठाउँमा स्वास्थ्य चौकीको भवनका लागि स्थानीयले निःशुल्क रूपमा जग्गा उपलब्ध गराउन तयार भए पनि वडाध्यक्षले अन्तै सार्न खोजेपछि शुक्रबार वडा कार्यालयमा तालाबन्दी गरिएको हो ।

भोक्राहा नरसिंह गाउँपालिका–८ का जियाबुल मन्सुरीले भवन निर्माण गर्न १५ धुर जग्गा निःशुल्क रूपमा उपलब्ध गराउन तयार रहेको बताउँदै स्थानीय युवा रियाज मन्सुरीले स्थानीयवासीको सहमति विपरीत स्वास्थ्य चौकीको भवन अन्तै बनाउन लागिएको हुँदा विरोध स्वरूप वडा कार्यालयमा तालाबन्दी गरेको बताए ।
वडावासीको सहमति रहेको र सबैलाई पायक पर्ने स्थानमा समेत भएकोले आफूहरूले जग्गाधनीलाई जग्गा दिन आग्रह गरेपछि निःशुल्क स्वास्थ्य चौकी भवन निर्माणका लागि जग्गाधनी जग्गा दिन तयार भए पनि भोक्राहा नरसिंह गाउँपालिका–८ का वडाध्यक्ष हातिम अन्सारीले एकलौटी रूपमा अन्तै सार्न लागेको गुनासो गरे । सहमतिअनुसार स्वास्थ्य चौकीको भवन निर्माण कार्य थालनी नगरेसम्म आफूहरूले वडा कार्यालयमा गरेको तालाबन्दी यथावत् राख्ने अर्का स्थानीय युवा मुकतार मन्सुरीले जनाए ।

निःशुल्क रूपमा वडामा स्वास्थ्य चौकी भवन निर्माण गर्न जग्गा दिँदासमेत बनाउन तयार नभएको र वडाध्यक्ष अन्सारीले अन्तै लाखौं मूल्य तिरेर जग्गा खरिद गरी निर्माण गर्न खोजेको हुँदा आफूहरूले तालाबन्दी गरेर विरोध जनाएको स्थानीय जियाबुल मन्सुरी बताउँछन् । भवन बनाउन उपलब्ध गराइएको १५ धुर जग्गा स्वास्थ्य चौकीको नाममा रजिष्ट्रेशन गर्दा खर्च मिनाहा गरिदिने सिफारिसमा वडाध्यक्ष अन्सारीले हस्ताक्षर गर्न नमानेपछि स्थानीयवासी आक्रोसित हुँदै वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । वडा कार्यालयमा तालाबन्दी गरिएपछि शुक्रबार सेवा लिन आउने सेवाग्राही रित्तो हात फर्किएका थिए ।

यता भोक्राहा नरसिंह गाउँपालिका–८ का वडाध्यक्ष हातिम अन्सारीले केही व्यक्तिको भन्दा सम्पूर्ण वडाबासीलाई पायक गर्ने स्थानमा स्वास्थ्य चौकीको भवन बनाउन चाहेको हुँदा अनावश्यक रूपमा तालाबन्दी गर्नुको तुक नभएको प्रतिक्रिया दिएका छन् ।