• सन्तवीर लामा

धनकुटा /  पर्यटक प्रवद्र्धन गर्ने उदेश्यले प्रदेश सरकारको लगानीमा महालक्ष्मी नगरपालिकामा निर्माण भएको वनझाक्री पार्क तोकिएको समय भन्दा ६ महिना अघि सकिए पनि हस्तान्तरण नै नगरी उद्घाटन गर्न खोज्दा विवाद देखिएको छ ।
१ नं.प्रदेश सरकारको २ करोड, ८३ लाख, ७९ हजार ६ सय ५५ रुपयाँ लगानीमा बनेको वनझाँक्री पार्क महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपालले उद्घाटन गर्ने शुक्रबार कार्यक्रम तय गरिए पनि प्रदेश सांसद एवं प्रदेश सभाका विधायन समितिका सभापती इन्द्रमणी पराजुलीले आफुले उद्घाटन गर्ने भन्दै रोकेको बताईएको छ । प्रदेश सरकारको लगानीमा बनेका योजनामा स्थानिय सरकारी हावी गराउने भन्दै निर्माण कम्पनी र शहरी विकास तथा भवन निर्माण कार्यलयमा कार्यक्रम रोक्न भनेपछि कार्यक्रम स्थगन भएको बताइएको छ । स्थानिय सरकार र प्रदेश सरकारमा रहेका नेता विच भएको विवादसंगै वन झाँक्रीपार्क उद्घाटन कार्य अन्यौलमा परेको छ ।

वन झाक्रीपार्क उद्धघाटनको लागी नगर प्रमुख परशुराम नेपाल र उप–प्रमुख मञ्जु कार्की अधिकारीले संयुक्त रुपमा उद्धघाटन गर्ने गरी शिला तयार भै उद्धघाटनको कार्यक्रम पार्कमा सनिवार तय भएको थियो । रिपोर्टिङ्गका लागी जिल्ला सदरमुकाम धनकुटाबाट आधा दर्जन पत्रकार समेत कार्यक्रम उद्धघाटन स्थल वनझाँक्रीपार्क जितपुरमा पुगेका थिए । पार्क उद्धघाटन स्थलमा रिपोर्टिङ्गको लागी पुगेका पत्रकारहरुलाई आयोजक निर्माण कम्पनीले पार्क उद्धघाटन नहुने जानकारी दिएपछि त्यसै फर्किएका थिए ।

धनकुटाको महालक्ष्मी नगरपालिकाको वडा नं ६ र ७ पर्ने सो क्षेत्र ऐतिहाँसिक का खण्डमा बनझाँक्रिको क्रिडास्थल रहेको वताइएको छ । हाल पनि सो क्षेत्रमा अनकन्टार घना जंगल रहेको र जंगलको विचमा पार्क निर्माण गरिएको छ । परापुर्वकाल देखी गढिको रुपमा पनि आफ्नो परिचय रहेको सो क्षेत्रमा प्रदेश सरकार अन्तरगत शहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाले बोलपत्र आव्हान गरेर पार्क निर्माण गरेको हो । पार्कको निर्माण कार्य वाईपी आर निर्माण सेवा प्रालि धनकुटाले पाएको थियो । सो निर्माण कम्पनीले तोकिएको सयम भन्दा ६ महिना अघि नै निर्माण सम्पन्न गरेको जनाएको छ । योजना सम्झौता गरेर कार्य आदेश दिने शहरी विकास तथा भवन निर्माण कार्यलय धनकुटामा आफुले निर्माण कार्य सम्पन्न गरेर ०७७ असार १३ गते नै पत्र दिएको प्रा.लि.का म्यानेजिङ्ग डाईरेक्टर महेन्द्र निरौलाले बताए ।
पार्कमा वनझाक्रीको मूर्ति, एकहजार एक सय ७० सिडी भएको पर्यटकका लागि रन वे र ४ ओटा विश्रामस्थल, रन वे मा जिआई पाईपको रेलिङ, प्रवेशद्वार, निकासद्धार, टिकट काउन्टर, पालेघर,विभिन्न स्थानमा शौचालय पीउने पानि, सौर्यवत्ति र सवारी पार्किङ स्थल लगाएतका संरचना बनेका छन् । झाँक्रि बस्ने स्थान र रन वे मा पर्ने अग्लो डाँडाबाट तराईका फाँट,अरुण उपत्यका र मकालु हिमालको दृष्यावलोकन गर्न सकिने नगर प्रमुख पर्शुराम नेपालले बताए ।

पार्क निर्माण ०७६ साउन १९ मा सुरु भई ०७७ माघ १९ गते सम्पन्न हुने सम्झौता भएपनि सम्झौताको समय सिमा भन्दा ७ महिना अघि नै निर्माण कार्य सम्पन्न गरेको शहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाका प्रमुख मिलन आचार्यले टेलिफोन मार्फत वताए । उनले निर्माणको ठेक्का पाएको वाइपिआर निर्माण सेवाको अन्तिम भुक्तानी गर्न भने बाँकी रहेको आर्चायले बताएका छन् । उनले आफु आयोजक भएर पार्कको उद्धघाटन गरेको नभै निर्माण व्यवसायीले आयोजना गरेको उद्धघाटन् कार्यक्रममा आफुलाई निम्ता भए पनि असार मसान्तको कामले पुग्न नसकेपछि कार्यालयको प्रतिनिधि पठाएको वताए । तर पार्क उद्धघाटन कार्यक्रम कस्ले किन कसरी भएन आफुलाई थाहा नभएको र उद्धघाटन कार्यक्रम कार्यालयको कर्तव्य भित्र पनि नपर्ने प्रमुख आचार्यले वताए ।

पार्क निर्माणसँगै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरी स्थानीय पर्यटकिय स्थलहरु एवम् सांस्कृतिक गतिविधिलाई समेत प्रचार–प्रसार गर्ने लक्ष्य राखिएको महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपालको भनाई छ । पार्क निर्माणस्थलममा परापूर्वकालमा वनझाक्रीहरु घुम्नेखेल्ने किम्बदन्ती रहेको कारण पार्क निर्माण गरिएको एवं पर्यटकको सुविधाका लागि स्तरिय होटल, लज,चमेना गृह लगायत विभिन्न थप पूर्वाधार निर्माण गरिने नगरको योजना रहेको उनले भने ।

पार्कको उद्धघाटनको विषयमा जानकारी राख्दा आफुलाई सो कार्यक्रमको जानकारी कोही कसैबाट नआएको प्रदेश सांसद इन्द्रमणी पराजुलीले वताए । नगरपालिका र ठेकेदारले पार्क उद्धघाटन गर्ने नभई प्रदेश सरकारको कार्यक्रम भएकाले शहरी विकास तथा भवन निर्माण कार्यालयले विधिवत रुपमा हस्तान्तरण भएपछि उद्धघाटन गर्नुपर्ने पराजुलीले वताए । उनले त्यो भन्दा पनि पहिलो विषय भनेको काम सम्पन्न भएको फरफराकको प्रतिवेदन मन्त्रालयमा हालसम्म नवुझाए वताए । पार्कको भौतिक विकास मन्त्रालयले उद्धघाटन गरेर नगरपालिकालाई हस्तान्तरण गरिने पराजुलीले जनाकारी दिए । कस्ले कस्लाई कसरी हस्तान्तरण हुन्छ भन्ने प्रक्रिया नवुझि काम गर्दा समश्या उत्पन्न भएको दावी पराजुलीको छ । उनले कमिसनको खेलमा काम भएको छ कि भन्ने शंका उत्पन्न भएकाले मन्त्रालयबाट स्थलगत रुपमा इस्टिमेट अनुसार काम भएको छ वा छैन प्राविधिक टोली सहित अनुगमन गरिने वताए ।
तस्वीरहरु ः धनकुटा जिल्लाको महालक्ष्मी नरपालिकाको वडा नं.६÷७ को सिमनामा निर्माण कार्य सम्पन्न गरिएको भनिएको बनझाँक्रि पार्कको प्रबेशद्वार, वनझाँक्रिको मूर्ति एवं टिकट काउन्टर । तस्विरःब्लाष्ट÷सन्तवीर लामा