धरान  / कोरोना महामारीले विश्व आक्रान्त बनाइरहेको सन्दर्भमा धरानमा कोरोना समन अनुष्ठान सम्पन्न गरेको छ । असार १३ गतेदेखि सुरु गरिएको सप्ताहव्यापी अनुष्ठान धरानको गीता मन्दिरको भवनमा सम्पन्न भएको हो ।

२२ जना ब्राह्मणले महारुद्री, दुर्गा सप्तसती परायण, शतचण्डी पाठ, गायत्री जपलगायतको पाठ गरिएको आयोजक विजयपुर अध्यात्मिक मञ्चका अध्यक्ष पितरुमल अग्रवालले बताए । उनका अनुसार मञ्चलाई विश्व हिन्दू महासंघ सुनसरी, सनातन धर्म सेवा समिति सुनसरी, ब्राह्मण समाज धरानले सहयोग गरेका थिए । महारुद्राभिषेकको शुक्रबार सम्पन्न अनुष्ठानमा दूध र घ्युको धारासहित ब्राह्मणहरूले हवन गरेका थिए ।

ब्राह्मण समाज धरानका अध्यक्ष उद्दवप्रसाद अधिकारीले ढेड सय वर्ष अघिको एक पुस्तकमा महामारीले आक्रान्त भएको अवस्थामा महारुद्राभिषेक गरेमा महामारी समन हुने कुरा उल्लेख भएको भेटिएपछि अनुष्ठान गरिएको बताए । धार्मिक पुस्तकमा ऋषिमुनिहरूले महायज्ञ गरेर महामारीको रोगव्याधी समन गरेको कुरा उल्लेख भएकाले नै कार्यक्रम गरिएको उनले बताए ।

महारुद्राभिषेकको उद्घाटन प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले गरेका थिए भने समापनमा भने धरान उपमहानगरपालिकाका नगर प्रमुख तिलक राई, सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी राजेश पौडेल पनि सहभागी बनेका थिए ।