• अनिल श्रेष्ठ

विराटनगर / विराटनगर महानगरपालिका क्षेत्रमा सघन शहरी विकास परियोजना अन्तर्गत निर्माण भइरहेको सडक र कल्भर्ट निर्माणमा चरम लापरबाही गर्दै आएको पाइएको छ । सडकको बीचमा ठूलो खाडल बनाएर गरिएको कल्भर्ट निर्माणमा दुर्घटना हुन नदिन डाइभर्सन र निर्माण कार्यको कुनै पनि साङ्केतिक बोर्डहरू नराखी भूमि कन्स्ट्रक्सनले लापरबाहीपूर्ण तरिकाले गर्ने गरेको पाइएको हो ।

सावधानी नअपनाइकन एक महिना हुनलाग्दा पनि विराटनगर–१५ र १६ को बीच सिमाना रानीमा निर्माण पूरा नभएको कल्भर्टमा बिहीबार राति साढे ११ बजे दुर्घटनामा परी विराटनगरका २३ वर्षीय प्रशान्त बस्नेतको स्कुटर दुर्घटनामा परी उपचारको क्रममा मृत्यु भएको छ । उत्तरतर्फ आउँदै गरेको लु.४६ प ६३९० नम्बरको स्कुटर अनियन्त्रित भई कल्भर्टमा दुर्घटना हुँदा घाइते भएका बस्नेतको उपचारको क्रममा नोवेल अस्पतालमा राति साढे १२ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
निर्माण कम्पनी भूमि कन्स्ट्रक्सनले सडक र कल्भर्ट निर्माणमा चरम लापरबाही र ढिलासुस्ती गरेको कारणले दुर्घटना हुने गरेको स्थानीयको भनाइ छ । विराटनगर–१६ रानीकी विमला राजवाहकले निर्माण कम्पनीले अहिले बनाउँदै गरेको सडक तथा कल्भर्टहरू अगाडि डाइभर्सन र रातिको समयमा सडक बत्ती नराख्दा दुर्घटना हुने गरेको बताइन् । ‘सडकहरूमा सडक बत्ती राख्न स्थानीयवासीले आग्रह गर्दा पनि विराटनगर–१५ र १६ का वडाध्यक्षहरूले एकले अर्कालाई देखाउँदै हानाथाप गर्दै आएका छन्’ उनले भनिन्, ‘दिउँसोभन्दा रातिको समयमा दुर्घटनाको जोखिम हुने गरेको छ ।’

यस्तै विराटनगर –१६ की इन्दिरा बरालले रानीमा बन्न शुरू गरेको कल्भर्ट एक महिना हुन लाग्दा पनि निर्माण पूरा हुन नसक्दा अहिले दुर्घटना बढेर गएको बताइन् । ‘यहाँ निर्माण शुरू भएको एक महिना पूरा हुन लाग्यो । अहिलेसम्म एउटा कल्भर्ट बनाइसकेको छैन’–उनले भनिन् । समयमै निर्माण कम्पनीले सडकमा कल्भर्ट नबनाउँदा अहिले जोखिम बढेर गएको छ । सडकको बीचमा गहिरो खाडल खनेर दुवैतिरबाट इँटाको गारो उठाएर ठेकेदारले अलपत्र पारेर काम छोडेको छ । निर्माण पूरा नगरी त्यतिकै छाड्दा यहाँ पानी जमेको छ । केही दिनअगाडि पनि विराटनगरका एक जना पुरूषको यही कल्भर्टमा दुर्घटनामा परी खुट्टामा चोट लागेर गम्भीर घाइते भएको इन्दिराले बताइन् । जमेको पानीमा साना बालबालिकाहरू डुबानमा पर्ने पनि उत्तिकै जोखिम रहेको छ । यहाँका स्थानीयले जनप्रतिनिधि र निर्माण कम्पनीलाई कल्भर्ट निर्माण चाँडो बनाइसक्न आग्रह गर्दा पनि कुनै सुनुवाइ नहुने गरेको विराटनगर–१६ का मनोजकुमार साहले बताए । ‘हामीले निर्माण कम्पनी र स्थानीय जनप्रतिनिधिहरूलाई निर्माण रोकिएको कल्भर्ट बनाउन आग्रह ग¥यौं’ उनले भने, ‘निर्माणको जिम्मा पाउने कम्पनीले अहिले बनाउने कुनै चासो देखाएको छैन ।’

स्थानीयले सडक र कल्भर्ट निर्माण कार्यमा निर्माण कम्पनीले सावधानी नअपनाई चरम लापरबाहीपूर्ण तरिकाले काम गर्ने निर्माण कम्पनीलाई कडा कारबाहीको माग पनि गरेका छन् । विराटनगर–१५ का वडाध्यक्ष असलम आलमले निर्माण कम्पनीलाई निर्माण कार्य चाँडो गरी समयमै सम्पन्न गर्न भन्दा सुनुवाइ नभएको बताए । ‘मैले कति पटक निर्माण कम्पनीलाई सडक र यहाँ रहेका कल्भर्ट निर्माण चाँडो सक्नू भन्ने गरेको छु । तर हामीले भनेको कुरा सुन्ने गरेको छैन’–उनले भने ।

सघन शहरी विकास परियोजना अन्तर्गत विराटनगरको रोडशेष चौकदेखि रानी विराटनगरसम्मको करिब ५ किलोमिटर सडक निर्माणको ठेक्का भूमि कन्स्ट्रक्सनले पाएको छ । सो सडक निर्माणको सम्झौता २०७४ साल जेठ २८ गते १७ करोड ९३ लाखमा भएको हो । सम्झौताको म्याद गत जेठ २२ मा सकिँदा अहिलेसम्म रोडशेष–रानी सडक–खण्ड साढे ३ किलोमिटर मात्र पिच भएको भूमि कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर प्रमोद साहले बताए । रोडशेष–रानी सडक–खण्डमा कुल १६ वटा कल्भर्ट निर्माण हुने जानकारी दिए । उनका अनुसार विराटनगर–१५ र १६ को सिमाना रानीमा बन्दै गरेको कल्भर्ट स्थानीयको अवरोधको कारण काम रोकिएको बताए । स्थानियले बिच्छ्याएको खानेपानीको पाइप र केबलको फाइबर झिक्न निर्माण कम्पनीलाई दबाव दिँदा काम रोकिएको उनको भनाइ छ । ‘बाटो क्लियर भयो भने हामीले काम गर्ने हो’ उनले भने, ‘जमिनमुनिको खानेपानीको पाइप झिकेर हटाउन हाम्रो अधिकार क्षेत्रमा पर्दैन ।’