धरान / लकडाउनका कारण काम गर्न नपाएर हातमुख जोड्न नै समस्या परे पछि धरानका सफारी चालकहरुले आज धरान उपमहानगरपालिका घेराउ गरेका छन् ।

अखिल क्रान्तिकारी सफारी चालक संघको नेतृत्वमा ‘खान देऊ कि गरिखान देउ’ नारा लेखिएको प्लेकार्डसहित धरान उपमहानगरपालिका गेटमा धर्ना दिएका छन् ।

तीन महिनादेखि काम नपाए पछि हातमुख नै जोड्ने समस्या भएकाले स्थानीय सरकारलाई काम नभए खान दिन दवाव दिएको संघका सदस्य सफारी चालक दिपेश गुरुङले जानकारी दिए ।

संघका अध्यक्ष सुरेन्द्र राईको नेतृत्वमा मेयर तिलक राईलाई आजै ञापन पत्रसमेत बुझाएका छन् । उपमहानगरपालिकामा एक घण्टा धर्ना दिएर उनीहरुले केही बेर भानुचोकमा पुगेर प्रर्दशन गरेका थिए ।

गतचैत ११ गतेदेखि उनीहरुले सफारी चलाउन पाएका छैनन् । दैनिक सफारी चलाएर छाक टादैं आएका मजदुरहरु समस्यामा परेका छन् । सरकारले लकडाउन खुकुलो बनाएर पनि सार्वजनिक सवारी साधान संचालनमा रोक कायमै गरेको छ ।