धरान । भारत सरकारले कोरोना भाइरसको महामारीका कारण आर्थिक क्षेत्रमा परेको प्रभावलाई मध्यनजर गर्दै २० लाख करोडको आर्थिक प्याकेज ल्याउने घोषणा गरेको छ ।

कोरोना भाइरसका कारण आर्थिकसहित सबैजसो क्षेत्र प्रभावित बनेपछि मंगलबार प्रधानमन्त्री नरेन्द्र मोदीले भाइरसबाट लड्न राहत प्याकेजको घोषणा गरेका हुन् । हालसम्म राहत प्याकेजको घोषणा गरिए पनि कुन कुन क्षेत्रमा कसरी वितरण गरिने भन्ने विषयमा हालसम्म खुलाइएको छैन । चाँडै नै उक्त प्याकेजलाई सार्वजनिक गर्ने तयारीमा भारत सरकार रहेको छ ।

भारत सरकारले गरेको यो घोषणाको प्याकेज भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को १० प्रतिशत हिस्सा हो ।

यसैक्रममा प्रम मोदीले आत्मनिर्भर भारत अभियान कार्यक्रम पनि घोषणा गरेका छन् । भारतमा उत्पादित वस्तु तथा सेवाहरू भारतमै प्रयोग गर्नका लागि उनले आग्रह गरेका छन् । यो कार्यक्रमले भारतमा उत्पादन भएका वस्तु तथा सेवालाई भारतमै उपभोग गर्ने बताइएको छ । हालसम्म भारतमा २ हजार ४१२ जनाको कोरोनाको कारण ज्यान गइसकेको छ भने ७४ हजार १४९ जना संक्रमित भएको पुष्टि गरिएको छ ।

भारतले चौथो चरणको लकडाउनको तयारी गरिरहेको छ । यसक्रममा भारतका विभिन्न राज्यसरकारसँग छलफलको चरणमा रहेकाले चाँडै नै चौथो चरणको लकडाउनबारे बताइने भएको छ ।