धरान । नेपालको सीमावर्ती राज्य बिहार राज्यमा कोरोना भाइरसबाट संक्रमित हुनेको ग्राफ दिनप्रतिदिन बढ्दो छ ।

यसले नेपाललाई पनि समस्यामा पार्ने सम्भावना बढ्दै गएको छ । बुधबार मात्रै ३७ जना नयाँ कोरोना संक्रमितहरू भेटिएका छन् । हालसम्म बिहार राज्यका विभिन्न जिल्लामा ४ सय ३ जनामा कोरोना संक्रमण भइसकेको पुष्टि भइसकेको छ । जसमा २ जनाले ज्यान गुमाइसकेका छन् । बिहार राज्यको सीमासँग जोडिएका नेपालको झापादेखि पश्चिममा मकवानपुरसम्म पर्छ । बिहारको बक्सर, आरा, वैशाली, रोहतास, औरङ्गावाद, सीतामढी र मधेपुर क्षेत्रमा कोरोनाबाट संक्रमित बनेका छन् ।

भारतमा हालसम्म ३३ हजारभन्दा बढीमा कोरोना संक्रमण भइसेको कोभिड १९ इण्डिया डट ओआरजीले पुष्टि गरेको छ । ओआरजीका अनुसार हालसम्म ३२ हजार ९३६ संक्रमित भएका छन् । हालसमम १ हजार ७७ जना कोरोनाका कारण मृत्यु भइसकेको छ । हालसम्म ८ हजार ४३२ जना कोरोनाबाट संक्रमित रोगीहरू उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

पछिल्लो २४ घण्टामा १ हजार ८१३ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ७१ जनाको मृत्यु भइसकेको छ । हालसम्म भारतको महाराष्ट्र, गुजरात, दिल्ली, मध्यप्रदेशलगायतका राज्यमा सबैभन्दा बढी कोरोना संक्रमित भएका छन् । महाराष्ट्रमा मात्रै ९ हजार ९१५ जना संक्रमित भएकोमा ४३२ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा ५९७ जना नयाँ रोगी थपिएका छन् । गुजरातमा कोरोनाबाट संक्रमितको संख्या ४ हजार नाघिसकेको छ ।