धरान । भारतमा मात्रै कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या २६ हजार नाघेको छ । कोभिड १९ इण्डिया डट ओआरजीका अनुसार देशमा २६ हजार १५३ जना कोरोनाबाट संक्रमति भइसकेको छ ।

अहिलेसम्म ५ हजार ९०६ जना बिरामी उपचारपछि निको भएर घर फर्किएका छन् । ८२३ जनाको मृत्यु भइसकेको छ । केन्द्रीइ स्वास्थ्य एवम् परिवार कल्याण मन्त्रालयको आँकडा अनुसार पछिल्लो २४ घण्टामा १ हजार ४९० जना कोरोनाबाट संक्रमित बनेका छन् । पछिल्लो २४ घण्टामा ५६ जनाको ज्यान गएको छ ।

भारतमा सबैभन्दा बढी महाराष्ट्र, मध्यप्रदेश, यूपीमा संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ । अन्य क्षेत्रको तुलनामा यो राज्यहरूमा कोरोना संक्रमित र मर्ने दर बढेको हो । महाराष्ट्रको स्वास्थ्य विभागका अनुसार शनिबार ८११ जना नयाँ संक्रमित भेटिँदा २२ जनाको मृत्यु भएको छ । अहिलेसम्म ७ हजार ६२८ जना कोरोनाबाट संक्रमित भएको खबर बाहिरिएको छ । जसमध्ये ३२३ जनाको मृत्यु भएको छ । यो अन्य राज्यको तुलनामा सबैभन्दा बढी हो ।

यूपीमा पनि पछिल्लो २४ घण्टामा १७२ जना नयाँ संक्रमित भेटिएका छन् । हालसम्म १ हजार ७९३ जना कोरोना संक्रमित भइसकेका छन् भने २७ जनाको मृत्यु भइसकेको छ । यूपीका विभिन्न जिल्लाहरूमा कोरोनाबाट संक्रमित भइरहेका छन् । जसको प्रत्यक्ष प्रभाव नेपालमा पनि पर्न सक्ने बताइन्छ ।

कोरोनाबाट दैनिक संक्रमितको संख्या बढिरहे पनि भारत सरकारले खुद्रा पसलहरू खोल्ने अनुमति प्रदान गरेको छ । लकडाउनका कारण पसल नखुल्दा थप समस्या भएको भन्दै पसल खोल्ने अनुमति दिएको हो । तर, त्यसका लागि सामाजिक दूरी कायम राखिनु पर्ने उल्लेख गरिएको छ । खुद्रा पसलमा कपडा, मोबाइल, हार्डवेयर, स्टेनशनरीजस्ता पसलहरू पनि खोल्न दिइने भएको हो । ठूला बजारहरू भने ३ मेसम्मका लागि बन्द गरिएको छ ।