धरान । काठमाडौं, ओखलढुङ्गा तथा अन्य क्षेत्रबाट धरान आएकाहरूको स्वास्थ्य स्क्रिनिङ गरेर १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्न आग्रह गर्दै घर पठाइएको छ ।
धरानको नाका तीनकुनेमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका करिब २० जनाको टोलीले स्वास्थ्य जाँच गरेर घर पठाएको हो । धरान उपमहानगरको संयोजनमा भएको स्वास्थ्य स्क्रिनिङमा काठमाडौंबाट आएका ६ वटा बस, एउटा माइक्रो, ओखलढुङ्गाबाट आएको ४ वटा बोलेरो जीप र इलामबाट आएको एउटा भाडाको बसमा आएका २ सय ३६ जना रहेका थिए ।
उनीहरूलाई घर पठाइएको भए पनि १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्नका लागि आग्रह गरिएको छ । १४ दिनभित्र कुनै खाल्का समस्या भएमा स्वास्थ्य कार्यालयसँग सम्पर्कमा आउन आग्रह गरिएको सशस्त्र प्रहरी बल नेपाल धरान १३ बेसक्याम्पका प्रमुख डिएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए । स्क्रिनिङमा जनपद प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरीसहित धरान–१७ का वडाध्यक्ष सूर्यप्रसाद भट्टराई पनि सहभागी रहेका थिए ।