पुरुष वा महिलाले आफ्नो ‘प्राइभेट पार्ट’ अर्थात् यौनअंगमा लागेका रोग तथा समस्यालाई सकेसम्म लुकाउने गर्छन् । चिकित्सकीय अभ्यासका क्रममा यौनरोग लुकाएर गम्भीर अवस्थामा मात्र अस्पताल आइपुगेका धेरै बिरामी भेटिएका छन् । यौन रोगलाई लाजका कारण लुकाउँदा जीवन नै बर्बाद भएका पनि भेटिएको छ । नेपालका सहरी क्षेत्रदेखि गाउँगाउँसम्म यौन सम्पर्कका माध्यमबाट सर्ने रोग व्याप्त छ ।
यौन सम्पर्कका क्रममा अथवा असुरक्षित यौन सम्पर्कका कारण सर्ने रोगलाई हामी यौनरोग भनेर चिन्छौं । तर, जब रोगले धेरै च्याप्छ अनि मात्र बिरामीहरु अस्पताल आइपुग्छन् । लाज र सङ्कोचका कारण यस्ता रोगबाट कुन वर्गका बिरामी बढी प्राताडीत छन् भनी सहजै पत्ता लगाउन सकिँदैन।
यौनरोग लागेका बिरामी कतिपयले रोग लुकाएर बसेका हुन्छन् भने कतिपयले आफ्नो अनुकूलको डाक्टरलाई देखाउँछन् । सकेसम्म पुरुषहरु पुरुष र महिलाहरु महिला डाक्टरकहाँ जान्छन् । त्यसले यौनरोगबाट महिला या पुरुष को बढी प्रभावित छन् भनी सहजै भन्न सकिँदैन । नेपालमा धेरैजसोमा सिफिलिस, गोनेरिया, क्ल्याइमेडिया, जेनाइटल वार्ट र कहिलेकाँही जेनाइटल हर्पिसको समस्या देखिने गरेको पाइन्छ । जेनाइटल वार्ट अर्थात् यौनांगमा आउने मुसा पनि यौन रोग नै हो । तर, हात र खुट्टा वा शरीरको अन्य भागमा देखिने मुसा चाहिँ यौनरोग होइन । यो यौन सम्पर्कका माध्यमबाट सर्ने रोग हो । यौनरोगका रुपमा परिचित मुसा भने स–सानो गिर्खाजस्तो देखिन्छ । अक्सर पुरुषहरुको यौनांगमा मुसा हुन्छ भने महिलाको योनी वा वरपर यस्ता मुसा देखिन्छन् ।
नेपालमा व्याप्त अर्को यौनरोग सिफिलिस हो । यसलाई नेपालीमा भिरिंगी भनिन्छ । छाडा यौन स्वभाव भएका व्यक्तिलाई यसको संक्रमण ज्यादा हुन्छ । सिफिलिस लागेको व्यक्तिसँगको यौन सम्पर्कपछि केही दिनमा पुरुषको लिंगमा घाउजस्तो देखापर्छ । केही दिनमा कतिपयको आफैं निको भएर जान्छ भने कतिपयले एन्टिबायोटिक औषधि खाए पुग्छ । पुरुषका कारणले महिलामा पनि भिरिंगी सर्छ । उनीहरुको यौनांग वरपर घाउ देखिन्छ । प्रारम्भिक चरणमा उपचार गर्न आए एक दिनको एन्टिबायोटिक वा इन्जेक्सन लगाएपछि रोग नियन्त्रणमा आउँछ । भिरिंगीको सुरुमा उपचार नभए जटिल बन्दै जान्छ । उपचार नभएमा कतिपय गर्भवती महिलाको रोग शिशुहरुमा सर्न सक्छ । तर, तुलनात्मक रुपमा पुरुषहरुलाई भने समस्या हुँदैन । यो रोग लाग्नासाथ असुरक्षित यौनसम्पर्क राखे सर्ने जोखिम उच्च हुन्छ । घाउ नै छ भने जोखिम ज्यादा हुन्छ ।
यदि, कसैलाई यौनांगबाट सेतो पानीजस्तो बग्छ भने गोनेरिया वा क्ल्याइमेडिया लागेको हुनसक्छ । यो रोगबाट संक्रमितसँग असुरक्षित सम्पर्क राखेमा रोग सर्छ र सुरुमा सेतो पानी बग्ने लक्षण देखिन्छ । कतिपयको यौनांग अति गन्हाउने हुन्छ । सिफिलिसमा घाउ नै हुन्छ भने गोनेरियामा घाउ नदेखिने तर सेतो पानी बगिरहने हुनसक्छ । महिलालाई यो रोगको संक्रमण हुँदा अन्य अंगमा पनि फैलने जोखिम रहन्छ । गर्भवतीका सन्तानमा यो रोग सर्ने खतरा पनि उत्तिकै हुन्छ । नवजात शिशुलाई गोनेरिया स¥यो भने आँखामा समस्या आउने हुनसक्छ।
जेनाइटल हर्पिज पनि अर्को यौनरोग हो । यसका धेरै प्रकार र लक्षण छन् । हर्पिज रोस्टर अर्को प्रकारको यौनरोग हो । शरीरको कुनै भागमा फोकाहरु निस्किएर पीडा हुन्छ, जसलाई हामी जनै खटिरा भनेर बुझ्छौं ।
कतिपयलाई लिंगमा फोका र पानीफोका निस्कने र पोल्ने गर्छ । कसैलाई घाउ, चोट छ भने शारीरिक सम्पर्कका बेला निस्कने यौनरसबाट यस्ता रोगहरु सर्छन् । यौनसम्पर्कका क्रममा योनी र लिंगबीच घर्षण हुँदा यौनरसमा रहने जीवाणूहरु एकजनाबाट अर्कोमा सहजै पुग्छन् । पानीफोका फुट्दा वा रस निस्कँदा पनि जीवाणूहरु स्थानान्तरण हुन्छन् । यस्ता यौनरोगहरु पुरुषबाट महिलामा सहजै सर्छन् । यौन सम्पर्कका क्रममा महिलाको यौनांगबाट पनि रसहरु निस्कने भएकाले जीवाणूहरु संसर्गका क्रममा पुरुषको यौनांगमा पुग्छन् ।
यस्ता रोगबाट जोगिने उपयुक्त उपाय नै सुरक्षित यौन सम्पर्क हो । एकजना यौन साथीबाहेक अरुसँग संसर्ग नगर्नु उपयुक्त हो । रोग लागिसकेको छ भने दुई जनामध्ये एउटाले मात्रै उपचार गरेर पुग्दैन । पति÷पत्नीमध्ये कसैमा यो रोग लागिसकेको छ भने निको नहुन्जेल शारीरिक सम्पर्क गर्नु हुँदैन ।
प्रायः हामीकहाँ उपचारमा आउने महिलामा श्रीमान्का कारण रोग लाग्ने गरेको बढी भेटिएको छ । घुमफिरका क्रममा बाहिरबाट रोगको संक्रमण बोकेर आउने अनि उनीहरुबाट रोग सरेर पत्नीहरु पीडित भएका घटना धेरै छन् । यदि कुनै पति÷पत्नी अन्यत्र शारीरिक सम्पर्क गर्दैनन् भने उनीहरुमा यस्ता रोग लाग्ने सम्भावना कम हुन्छ । बरु एचआइभी रगत, सिरिञ्ज लगायतका अन्य क्रियाकलापका कारण सर्न सक्ला तर एड्स बाहेकका अन्य यौनरोग अरु माध्यमबाट सर्दैनन् ।
यस्ता यौनरोग लागेका व्यक्तिले निको नहुन्जेल कन्डम प्रयोग गरेर शारीरिक सम्पर्क गर्न मिल्छ वा मिल्दैन भनी सोध्ने गर्छन् । पक्कै मिल्छ, तर सर्ने जोखिम भने केही मात्रामा रहिरहन्छ । यौन सम्पर्कका क्रममा हुने चुम्बनबाट पनि रोग सर्ने खतरा हुन्छ । यस्ता यौनरोग लागेका दम्पत्तीले मुखमैथुन लगायतका क्रियाकलाप गरेमा पनि रोग सर्ने सम्भावना रहन्छ । (छाला तथा यौनरोग विशेषज्ञ डा. शर्मा नर्भिक अस्पतालमा कार्यरत छन् ) एजेन्सीबाट