लक्ष्मीमार्ग । कोरोनाभाइरसले विश्वभरि नै अन्य क्षेत्रहरू जस्तै पर्यटन क्षेत्र पनि ठप्प छ । चीनबाट सुरु भएको यो भाइरस २०० भन्दा बढी मुलुकमा फैलिसकेको छ ।

नेपालमा पनि यो संक्रमणले १६ जनालाई भेटिसकेको छ । नेपाल वैशाख १५ गतेसम्म लकडाउनमा छ । पर्यटन मन्त्रालयले भ्रमण वर्ष २०२० को सम्पूर्ण कार्यक्रमहरू स्थगित गरेको छ । पर्यटन वर्षलाई लक्षित गरेर एक नम्बर प्रदेशमा निजी क्षेत्रबाट ५ अर्ब भन्दा बढी लगानी थपिसकिएको थियो तर त्यसको प्रतिफल शून्य जस्तै बनेको छ ।

पर्यटन क्षेत्र अन्य क्षेत्रहरूभन्दा अलिक फरक हुन्छ किन भने पर्यटकको चहलपहल भएन भने कारोवार शून्य हुन्छ र त्यो संक्रमण हटेपछि पनि तत्कालै पूर्ति हुन नसक्ने पर्यटन व्यवसायी साथै नेपाल ट्राभल एण्ड टुर एसोसिएसन प्रदेश एकका सचिव पुण्य भट्टराई बताउँछन् ।

हाल आक्रान्त बनेको पर्यटन साथै यातायात क्षेत्रलाई तत्काल सहयोग गर्नुपर्ने बताइएको छ । ‘बैंकको किस्ता, ब्याज, स्टाफलाई तलबहरूलगायतका कुराहरूमा व्यवसायीहरूले व्यहोर्न नसक्ने अवस्था भएपछि सरकाले पुनर्कर्जा उपलब्ध गराइदिने, सहुलियत दरमा ब्याजहरू उपलब्ध गराइदिएर जरीवानाहरू नलगाइकन तत्काललाई तिर्न नसक्ने यस प्रकारका रकमहरू ऋणको साँवामा गाभिदिने व्यवस्था बैंकहरूले गरिदिनु पर्छ’–भट्टराईले भने ।

‘केही बैंकहरूले केही व्यवसायी साथीहरूलाई तागेता गरिरहेको अवस्था सुन्नमा आएको छ तर व्यवसायीहरूले तत्कालै तर्ने अवस्था छैन अब कारोबार नभई सकेपछि यसको तत्कालै उपाय केहि छैन’–उनले भने । पर्यटन व्यवसायी भट्टराईका अनुसार कोरोना संक्रमणको कारणले भएको लकडाउनले राष्ट्रलाई आत्मनिर्भर बन्न शिक्षा दिएको र अब मुलुकले कृषिमा लगानी बढाएर, कुनै पनि खेतीयोग्य जमिन बाँझो राख्न नहुने बताए ।

त्यसैगरी पर्यटन व्यवसायी भविस श्रेष्ठका अनुसार भोलीको दिन पर्यटन क्षेत्र झन चुनौतीपूर्ण हुने सम्भावना रहेको बताउँछन् । भोलिको दिनमा आन्तरिक पर्यटकलाई कसरी चलायमान बनाउन सकिन्छ त्यसैगरी बाह्य पर्यटक कसरी भित्र्याउन सकिन्छ भन्ने ठूलो चुनौतीको रूपमा रहेको उनले बताए । सबैभन्दा ठूलो समस्या चाहिँ पर्यटन क्षेत्रमै परेको छ, देशको आर्थिक क्षेत्रको प्रमुख मेरुदण्डको रूपमा पर्यटनलाई हेर्ने वातावरण बन्दै थियो नेपालमा त्यो चै चकनाचुर भएको पर्यटन व्यवसायी भविस श्रेष्ठ बताउँछन् ।

हाल माहामारीको रूपमा रहेको कोरोनाभाइरस संक्रमण बढ्न नदिन सरकारले निर्णय गरेको लकडाउनको पूर्ण पालना गरेर संक्रमण बढ्न नदिनु नै हाल सबै नागरिकको दायित्व भएको हुनाले हाल लकडाउनको पूर्ण पालनामा आफूहरू रहेको उनीहरू बताउँछन् ।