धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्त गरिएको छ ।

विराट मेडिकल कलेजमा कार्यरत कार्डियोलोजी विभागका प्रमुख प्रा.डा. ज्ञानेन्द्र गिरीलाई उपकुलपतिमा आज नियुक्त गरिएको हो । गिरी २०४० सालतिर कोशी अस्पतालमा कार्यरत हुँदै चिकित्सक पेशामा आवद्ध भएका व्यक्ति हुन् । डा. गिरीलाई स्वास्थ्यमन्त्री भानुभक्त ढकालको सिफारिसमा प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका हुन् ।

स्वास्थ्यमन्त्री ढकाल प्रतिष्ठानका सहकुलपति हुन् भने प्रधानमन्त्री कुलपति हुन् । सहकुलपतिको सिफारिसमा कुलपतिले नियुक्त गर्ने प्रावधानअनुरूप डा. गिरीलाई नियुक्त गरिएको हो । डा. गिरीलाई आजै उपकुलपतिको पत्रसमेत प्रदान गरिसकिएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रतिष्ठानका उपकुलपति नियुक्त गरेको पुष्टि गरे । डा. गिरी विराटनगरको नोबेल मेडिकल कलेजका संस्थापकसमेत रहिसकेका व्यक्ति हुन् । तर, पछिल्लो समय विराट मेडिकल कलेजमा आवद्ध रहेका थिए । उनको बारेमा जानकार एक चिकित्सकका अनुसार डा. गिरी ‘स्टेट फरवर्ड’ व्यक्ति हुन् ।

उपकुलपतिका लागि बीपी प्रतिष्ठानभित्रैबाट दुई जना र बाहिरबाट डा. गिरीको सिफारिस भएको थियो । बीपी प्रतिष्ठानबाट प्रा.डा. सञ्जीवकुमार शर्मा र हालका कार्यबाहक उपकुलपति प्रा.डा. गुरु खनाललाई सिफारिस गरेको थियो । प्रा.डा. शर्मा प्रतिष्ठानका मेडिसिन विभाग प्रमुख हुन् भने प्रा.डा. खनाल शिक्षाध्यक्ष पदमा कार्यरत थिए ।

प्रा.डा. खनालले कार्यबाहक उपकुलपतिको रूपमा असार ३० गते नियुक्त गरेको थियो भने तत्कालीन प्रा.डा. राजकुमार रौनियारलाई ८ लाख रुपैयाँ घूस रकमसहित प्रतिष्ठानबाटै असार २६ गते पक्राउ गरेको थियो । प्रा.डा. रौनियारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय काठमाडौंको टोलीले उनको भतिजसहितलाई नियन्त्रणमा लिएको थियो ।